
फाइल तस्विर
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेकी छन्। राष्ट्रपतिले आइतबार राष्ट्रियसभा अध्यक्षलाई पत्र पठाउँदै आइतबार राति १२ बजे देखि अधिवेशन अन्त्य भएको जानकारी गराएकी हुन्।
यही पुस १७ गतेबाट राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु भएको थियो । जम्मा १० दिनको अवधिमा ४ दिन बैठक बसेको छ । बैठक अवधि ७ घण्टा ५ मिनेट रहेको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले जानकारी दिए ।
‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७७/९/२६ को सिफारिसमा राष्ट्रिय सभाको चालु अधिवेशन संवत् २०७७ साल पुस २६ गते आइतबारका दिन राति १२ बजेदेखि अन्त्य गरेको छु।’ राष्ट्रपतिबाट जारी पत्रमा उल्लेख छ ।


