
काठमाडौँ, ९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा हुने सम्पन्न हुने बताएका छन्।
‘मुलुक निर्वाचनको तयारीमा लागेको छ। सुरक्षा निकायले अहं भूमिका निर्वाह गर्ने बेला आएको छ’, उनले भने।
सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अगामी बैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैको उत्तिकै दायित्व रहने समेत बताए।
प्रधानमन्त्री ओलीले पहिलो चरणमा प्रदेश दुईसहित गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा र दोस्रो चरणमा प्रदेश १ सहित बागमती र कर्णाली प्रदेशमा निर्वाचन हुने जानकारी दिए। ‘यसको औपचारिक निष्कर्ष निस्किसकेको छैन। कसो गर्दा उचित हुन्छ, त्यहीअनुसार अघि बढ्नुपर्ला भन्ने सोचेको छु’, उनले भने।
उनले सुरक्षा निकायलाई निष्पक्ष र विधिसम्मत तरिकाले अघि बढ्न आग्रह गरे। अहिलेका अवस्थामा केही तत्वबाट विभिन्न घटना घटाउने चेष्टा हुन सक्नेतर्फ ध्यानाकर्षण गराए। उनले घटना घट्नु अघि नै नियन्त्रण गर्न सुरक्षाकर्मीलाई निर्देशन दिए। यसका लागि अन्य सुक्षाकर्मीसँग समन्वय गर्न पनि उनले सुझाब दिए।
प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई सहजरुपमा अघि बढ्न नदिने चेष्टाका झलक देखिएको बताए। उनले कुनै पनि अवाञ्छित गतिविधि गर्ने तत्वप्रति सजक रहँदै यसको सामनाका लागि तयार रहन पनि आग्रह गरे।
१४ गतेबाट खोप लगाउन शुरु
प्रधानमन्त्री ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिने जानकारी दिए। यसका लागि समूह तयार पारिसकेको उनले बताए।
मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको शुरुआत भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेको प्रधानमन्त्री ओलीको भनाइ थियो । उहाँले पहिलो चरणमा अग्रभावमा रहेर कोभिड–१९ विरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने जानकारी दिए। पर्याप्त खोप नआइसकेकाले अझै केही महिना साबधानी अपनाउन प्रधानमन्त्री ओलीले सबैमा आग्रह गरेका छन्।
शान्ति, सुरक्षा, अमन चयनलगायत विपद् व्यवस्थापन र संकटका बेला सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले समयानुसार परिमार्जित हुँदै अघि बढ्न सशस्त्र प्रहरीलाई आग्रह गरे।
समारोहमा गृहमन्त्री रामबहादुर थापाले परिवर्तित वर्तमान अवस्थामा अहम् भूमिका निर्वाह गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिए। उनले आन्तरिक विद्रोह र आपराधिक गतविधि नियन्त्रणका लागि तयार रहनसमेत सुरक्षा निकायलाई निर्देशन दिए।
उनले सशस्त्र प्रहरीको १७ जिल्लाका अस्थायी गुल्मलाई स्थायी बनाउने र सीमा निगरानी चौकीलाई ५ सय पु¥याउने लक्ष्य गृहमन्त्रालयको रहेको जानकारी दिए। पर्वतीय उद्धार तालिम शिक्षालय बनाउने तयारी भइरहेकोसमेत गृहमन्त्री थापाले जानकारी दिए। उनले आवश्यकताअनुसार सशस्त्र प्रहरीमा जनशक्ति थप्दै लगिने पनि बताएका छन्।
सशत्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संगठनले प्राप्त गरेको जिम्मेवारीलाई निर्भिक भएर पुरा गरेको जानकारी गराउँदै यस वर्ष सीमा निगरानी चौकीको संख्या बढाएर २२० पु¥याउने लक्ष्य राखिएको बताए। उनले यस वर्ष रु एक अर्ब ४१ करोड अबैध सामान बरामद गरी भन्सार कार्यालया बुझाइएको समेत जानकारी दिए।
उक्त समारोहमा बंगलादेशको ढाका म्याराथनमा स्वर्ण पदक ल्याउने सशस्त्र प्रहरीकी खेलाडी पुष्पा भण्डारीलाई पुरस्कार प्रदान गरिएको थियो। उत्कृष्ट हुने सशस्त्र प्रहरीको नं १ बाहिनी मुख्यालय सुनसरीलाई पुरस्कृत गरिएको थियो भने लाईफ टाइम एचिभमेन्ट अवार्डबाट पूर्वसशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक धनबहादुर थापा क्षेत्रीलाई सम्मान गरिएको थियो। रासस

