
काठमाडौं । अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधान्यायाधीशहरुलाई अदालतमा आफैँ उपस्थित भएर जवाफ दिन आदेश दिएको छ ।
विभिन्न अधिवक्ताहरुले प्रतिनिधिसभा विघटनका विषयमा दिएका अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै दिएको रिटको पहिलो सुनुवाइपछि बिहीबार न्यायाधीश डा. मनोज शर्माको एकल इजलासले यस्तो आदेश दिएको हो ।
प्रधानमन्त्रीविरुद्ध परेको मुद्दामा सर्वोच्चले गरेको आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो, मागबमोजिम अपहेलनामा कारबाही किन हुनु नपर्ने हो, म्याद प्राप्त भएको मितिले बाटाका म्यादबाहेक ७ दिनभित्र सबै व्यहोरा खुलाई आफैँ लिखित जवाफ पेस गर्नुहोला।’
यस्तै पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरे र पूर्व प्रधानन्यायाधीहरूविरुद्ध धनजित बस्नेत र लोचन भट्टराईले अवहेलान मुद्दा दायर गरेका हुन्। पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलाना मुद्दा दर्ता भएको हो। सबै मुद्दामा आज सर्वोच्चमा सुनुवाइ भएको हो।

