जापानको १० प्रान्तमा आपतकाल एक महिना थपियो

-


     मर्दी न्युज    
     माघ २० गते २०७७ मा प्रकाशित


आपतकाल एक महिना थप्ने घोषणा गर्दै प्रधानमन्त्री सुगा

सन थापा,
जापान, २० माघ । जापानमा कोरोना संक्रमण तीव्र रूपमा फैलिदै गएपछि गत महिना लागु गरिएको आपतकाल एक महिना थपिएको छ । प्रधानमन्त्री योशिहिदे सुगाले मंगलबार कोरोना भाईरस कार्यदलको बैठकमा टोकियो सहित १० प्रान्तमा आपतकाल एक महिना थप्ने घोषणा गरेका हुन् ।

आर्थिक पुनरूत्थान मन्त्री यासुतोशी निशिमुरा र स्वास्थ्य, श्रम तथा कल्याण मन्त्री नोरिहिसा तामुराको उपस्थिति रहेको उक्त बैठकमा प्रधानमन्त्री सुगाले आपतकाल लागु भएपछि संक्रमणको दर घट्दै गएको र रेस्टुरेन्ट तथा बारहरूको व्यापार समय छोट्याउने उपाय सफल भएको बताए । अस्पतालमा भर्ना हुने र गम्भीर बिरामीको संख्या घटाउन र पर्याप्त चिकित्सा सेवा उपलब्ध गराउन पहल भइरहेको उनले बताए ।

जनवरी ८ मा राजधानी टोकियो, खानागावा, साईतामा र चिबामा र जनवरी १३ देखि ओसाका, ह्योगो, क्योतो, आईची, गिफु, तोचिगी र फुकुओका प्रान्तहरूमा दोस्रोपटक आपतकाल घोषणा गरेको थियो । तोचिगी प्रान्तमा भने फेब्रुवरी ७ बाट आपतकाल हटाउने भएको छ ।