
पोखरा । पोखरामा रहेको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य अन्तर्राष्ट्रिय पर्वतिय संग्रहालयको अठारौं स्थापना दिवस (फेब्रुअरी ५ तारीख) विविध कार्यक्रमका साथमा मनाइएको छ।
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको सबैभन्दा पहिले संग्रहालय स्थापनामा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका स्व. डा. हर्क गुरुङ, स्व. कुमार खड्क बिक्रम शाह, स्व. दावा नोर्बु शेर्पाको शालिकमा माल्यार्पण गरी झन्डोत्तोलन, ल्ह खाङ्ग (पुजा कोठा)मा पूजा गर्नुका साथै सभाहलमा औपचारिक कार्यक्रमको सूरुवात भएको थियो । कार्यक्रममा संग्रहालयका गतिविधि, निर्माणकार्य, आम्दानी खर्च लगायतका विषयमा कोषाध्यक्ष सुदर्शन न्यौपानेले जानकारी गराउनु भएको थियो।
त्यसैगरी सोही कार्यक्रममा संग्रहालयको सद्भावाना राजदूतको रूपमा अल्ट्रा म्याराथन धाबिका मिरा राईलाई नियुक्त गरिएको थियो । उनलाई नियुक्ति पत्र, सम्मान पत्र तथा पचास हजार रुपैयाँको चेक प्रदान गरिएको थियो। अन्तर्राष्ट्रिय पर्वतिय संग्रहालयको मिडियामार्फत प्रचारप्रसार गरे बापत राससका पत्रकार हरि बास्तोला तथा पत्रकार अनिशा श्रेष्ठलाई जनही पच्चीसहजार रुपैयाँको चेक यातायात खर्च स्वरुप प्रदान गरिएको थियो । वर्षको उत्कृष्ट कर्मचारीको रूपमा माया देबि शर्मालाई दश हजार रुपैयाँ, संमान पत्र साथै दोशल्ला ओढाएर संमान गरिएको थियो।
सम्मान कार्यक्रममा अध्यक्ष सन्त वीर लामा, महासचिव कुलबहादुर गुरुङ तथा कोषाध्यक्ष सुदर्शन न्यौपाने सरिक हुनुहुन्थ्यो।
सोही अबसरमा यही माघ ३ गते धम्पुस पिक (६०१२ मि.) आरोहण गरेका छ जना गण्डकी प्रदेशका सफल आरोहीहरु टासी पासाङ गुरुङ, मनु गुरुङ, सन कुमार जुग्जाली, सुदिप गौतम, दिपेश बाबू सुवेदी, हिरा कुमारी मल्ल लगायत आरोहणदलमा सहभागी सम्पूर्णलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
शुभकामना मन्तव्य राख्नुहुने बक्ताहरुमा पोखरा पर्यटन परिषदका अध्यक्ष गोपिबहादुर भट्टराई, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश प्रमुख काशीराज भण्डारी, नेपाल सरकारका सगरमाथा मापन टोलि संयोजक तथा नापी कार्यालय कास्कीका प्रमुख खिमलाल गौतम, गण्डकी प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचीव डा. महेश्वर ढकाल हुनुहुन्थ्यो।
सबै बक्ताहरुले पर्वतीय संग्रहालयले पोखरा तथा यस क्षेत्रको पर्यटन प्रबर्द्धनमा पुर्याएको योगदानको चर्चा गरेका थिए।
केन्द्रका अध्यक्ष सन्त वीर लामाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम संघका सदस्य जीवनराज सापकोटाले गर्नुभएको थियो भने स्वागत मन्तव्य नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माले गर्नुभएको थियो।

