
पोखरा । कोभिड –१९ का कारण लामो समयदेखि बन्द रहेको स्याङ्जा जिल्लामा रहेको ४९ वटा होमस्टेहरु भोलिदेखि संचालनमा आउने भएका छन । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय पोखराको सभहलमा आइतबार भएको पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो ।
होमस्टे एसोसिएसन नेपाल (होसान), स्याङ्जा जिल्ला कार्यसमितिले गरेको पत्रकार सम्मेलनमा आन्तरिक पर्यटकहरुलाई चलायमान बनाउन विभिन्न प्रबर्द्धनात्मक कार्यक्रम ल्याइएको सोही मुताविक माघ २७ गते सिरुवारीमा गाउँपालिका परिचयात्मक भ्रमण, फागुन २७ गते देखि २९ गते वालिङ नगरपालिका –४ स्थित कुलमान घिसिङ झरनामा क्यानोनिङ्ग महोत्सव तथा मैत्रीपुर्ण प्रतियोगिता गर्ने, २०७७ चैत २७ गते सिरुवारिमै होमस्टेमा कोभिडको प्रभाव तथा छलफल कार्यक्रम चलाउने बताइएको छ । साथै स्याङ्जा जिल्लाका होमस्टेहरुमा प्रतिब्यक्ति प्रतिरात ६५० रुपैयाँ देखि २१०० रुपैयाँ सम्मको प्याकेज भएकोपनि जानकारी गराइएको थियो ।
जुम गुरुङको सभापतित्वमा भएको उक्त कार्यक्रममा मोहन खनालले पत्रकारहरुले सोधेका प्रश्नहरुको उत्तर दिनुभएको थियो ।
शुभकामना मन्तव्य दिदै पोखरा पर्यटन परिषदका अध्यक्ष गोपिबहादुर भट्टराई, ग्रामीण पर्यटन पुनस्र्त्थान समिति गण्डकीका संयोजक अग्नि कंडेल ,नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका कार्यालय प्रमुख काशि राज भण्डारीले ग्रामीण पर्यटनको महत्त्व तथा होमस्टेहरुले सुधार गर्नुपर्ने पाटोहरु बारेमा प्रकाश पार्नुभएको थियो ।

