
सन थापा,
जापान, १४ फागुन । प्रधानमन्त्री योशिहिदे सुगाले शुक्रबार ओसाका, ओसाका, ह्योगो, क्योतो, आईची, गिफु र फुकुओका प्रान्तहरूमा आपतकाल हटाउने घोषणा गरे । कोरोना भाईरस मापन मुख्यालयको शुभारम्भपछि प्रधानमन्त्री सुगाले फेब्रुवरी २८ बाट आपतकाल हटाउने घोषणा गरेका हुन् । सो कार्यक्रममा आर्थिक पुनरूत्थान मन्त्री यासुतोशी निशिमुरा र स्वास्थ्य, श्रम तथा कल्याण मन्त्री नोरिहिसा तामुराको सहभागीता रहेको थियो । यद्यपि राजधानी टोकियो, खानागावा, साईतामा र चिबा प्रान्तमा भने मार्च ७ सम्म आपतकाल कायम रहने भएको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि जनवरी ८ मा टोकियो, खानागावा, साईतामा र चिबामा र जनवरी १३ देखि ओसाका, ह्योगो, क्योतो, आईची, गिफु, तोचिगी र फुकुओका प्रान्तहरूमा दोस्रोपटक आपतकाल घोषणा गरेको थियो । तोचिगी प्रान्तमा भने फेब्रुवरी ७ बाट आपतकाल हटाएको थियो।
जापानमा शुक्रबार १ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८० जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार २ सय ३१ जना पुगेको छ । त्यस्तै डायमण्ड प्रिन्सेस क्रूजका १३ जना सहित ७ हजार ८ सय ३९ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित हालसम्म ४ लाख ७ हजार २ सय ४३ जना कोरोना संक्रमित निको भएका छन् ।
बुधबार ३७ हजार ५ सय ७७ जनाको पिसीआर परीक्षण गरिएको थियो ।
संक्रमितमध्ये १४ हजार ९ सय १७ जनाको उपचार भइरहेको छ भने ४ सय ५७ जनाको अवस्था गम्भीर रहेको छ ।
संक्रमित धेरै भएका प्रान्तहरू
टोकियोमा संक्रमित १ लाख ११ हजार १० जना र १ हजार ३ सय ३२ जनाको मृत्यु भएको छ ।
ओसाकामा ४७ हजार जना संक्रमित र १ हजार १ सय सातजनाको मृत्यु भएको छ । त्यसैगरी खानागावामा संक्रमित संख्या ४४ हजार ६ सय छ जना र ६ सय ७२ जनाको मृत्यु भएको छ ।
साईतामामा संक्रमित संख्या २९ हजार १ सय २९ जना र ५ सय ४१ जनाको मृत्यु भएको छ ।
चिबामा संक्रमित २६ हजार ९७ जना र मृत्यु हुने संख्या ५ सय २३ जना पुगेको छ । आईचीमा संक्रमित २५ हजार ८ सय छजना र ४ सय २८ जनाको मृत्यु भएको छ ।
होक्काईदोमा संक्रमित १९ हजार छजना र मृत्यु हुने संख्या ६ सय ७१ जना पुगेको छ । फुकुओकामा संक्रमित १८ हजार सातजना र २ सय ८४ जनाको मृत्यु भएको छ । ह्योगोमा संक्रमित १७ हजार ९ सय २२ जना र मृत्यु हुने संख्या ५ सय २२ जना पुगेको छ । क्योतोमा ९ हजार ५४ जना संक्रमित र १ सय ५५ जनाको मृत्यु भएको छ । त्यस्तै ओकिनावामा ८ हजार १ सय ५९, इबाराकीमा ५ हजार ७ सय १०, सिजुओकामा ५ हजार १ सय, हिरोसीमामा ५ हजार २३ र गिफुमा ४ हजार ६ सय १० जना संक्रमित संख्या पुगेको छ ।
टोकियोमा २ सय ७०, ओसाकामा ७७, खानागावामा १ सय १७, साईतामामा १ सय एक, चिबामा १ सय १३,आईचीमा ४० जना संक्रमित थपिए । त्यस्तै होक्काइदोमा ३६, फुकुओकामा ५२, ह्योगोमा २४, क्योतोमा आठ, ओकिनावामा २३, इबाराकीमा २८, हिरोसीमामा १८, सिजुओका र गिफुमा तीन(तीनजना संक्रमित थपिए ।

