
काठमाडौँ । एमालेको माधवकुमार नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई पार्टी विभाजनका लागि सहज बनाइदिने गरी प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन गृहकार्य थालेका छन् ।
आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले वरिष्ठ नेता माधव कुमार नेपालसहितको गठबन्धनको बैठकले दल विभाजनका लागि २५ प्रतिशत सदस्यले मात्रै पुग्ने गरी अध्यादेशको मस्यौदा तयार पारेको हो । छुट्टै दल दर्ताको मानसिकतामा पुगेको नेपाल पक्ष र ठाकुर पक्षलाई लक्षित गरेरै सरकारले अध्यादेश ल्याउन लागेको हो ।
मंगलबार वा बुधबारसम्म ल्याइने उक्त अध्यादेशले नयाँ दल खोल्न अब पार्टीको केन्द्रीय कमिटी वा संसदीय दल मध्ये एउटामा एक चौथाइ सदस्य सङ्ख्या भए पनि पुग्ने गरी मस्यौदा तयार गरिएको सरकारका एक मन्त्रीले यसको पुष्टि गरे ।
सर्वोच्चले संसद् पुनर्स्थापना गरी नयाँ प्रधानमन्त्री नियुक्त गरेको एक महिना पुरा भइसके पनि एमालेका वरिष्ठ नेता माधव कुमार नेपालकै पर्खाइमा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई सहज हुने गरी अगाडि बढ्ने वातावरण तयार गरिरहेका छन् ।
एमाले भित्रको तिक्तता र आन्तरिक कलह तथा अध्यक्ष केपी ओलीसँगको आन्तरिक वैमनस्यताका कारण नेता नेपालले एकताका लागि सहमति जनाउन सकेनन् । अन्ततः सरकारमा सहभागी हुने निर्णय गरेका छन् । यद्यपि अब पार्टी फुटाउन सहज वातावरण भएमा नेता नेपालले छुट्टै पार्टी दर्ता गर्ने सङ्केत देखिएको छ ।
यस अघि पार्टी फुटाउन ४० प्रतिशत सदस्य सङ्ख्या पुग्नु पर्थ्यो । ४० प्रतिशत सदस्य नपुग्ने भएपछि नेता नेपालले सरकारमा सहभागी हुने नहुनेबारे कुनै पनि निर्णय दिन सकेका थिएनन् ।
नेकपा एमाले भित्र २०७५ जेठ २ अघिको संरचनाअनुसार २०३ केन्द्रीय कमिटी सदस्य छन् । ती मध्ये नेपाललाई ५१ सदस्य मात्रै भए पार्टी विभाजनका लागि एक चौथाइ सदस्य सङ्ख्या पुग्छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुलाई सोमबार राति नै बालकोटमा बोलाएर छलफल गरेका छन् भने आजै स्थायी कमिटी बैठक र संसदीय दलको बैठक बोलाएका छन् ।

