
थासाङ गाउँपालिका-२ सानोस्वाँरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको विमानमा सवार धेरै यात्रुहरूको शव नचिनिने अवस्थामा भेटिएको छ । केही शव टुक्रा फेला परेका छन् । प्रहरीले शव कलेक्सन गरिरहेको बताइएको छ ।
तारा एयरको ९ एन-‘एईटी’ ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको ठाउँमा प्रहरीको उद्धार टोली पुगेर शब संकलन गरिरहेको छ ।
फिस्टेल एयरबाट नेपाल प्रहरीका इन्स्पेक्टर राजकुमार तामाङ नेतृत्वको टिम घटनास्थलमा पुगेको हो ।
दुर्घटना भएको जहाजमा धनुषाका एकै परिवारका सात जना रहेको पुष्टि भएको छ ।
तारा एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ ।
जहाजमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजू सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ ।
गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए ।
दुर्घटनाग्रस्त जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ सवार थिए ।

