साउन १८ गतेदेखि आईपीओ निष्कासन गर्दै अभियान लघुवित्त

-


     मर्दी न्युज    
     श्रावण ८ गते २०७९ मा प्रकाशित


काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले यही साउन १८ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

लघुवित्तले प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका नौ करोड ७५ लाख रुपैयाँ बराबरका नौ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

लघुवित्तले निष्कासन गर्न लागेको कुल ९ लाख ७५ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ९ लाख १३ हजार ७५० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा साउन २२ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा भदौ १ गतेसम्म समय थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्युअर रेटिङ डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको सङ्केत गर्छ ।

हाल लघुवित्तको चुक्ता पुँजी १५ करोड २५ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँडपश्चात् लघुवित्तको चुक्ता पुँजी २५ करोड रुपैयाँ पुग्नेछ ।

आर्थिक वर्ष २०७७/७८ सम्म कम्पनीको सञ्चित नाफा ३५ लाख रुपैयाँ छ । यस्तै, उक्त अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६० पैसा छ । प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ३६ पैसा छ ।

कम्पनीले पहिलो कारोबारका लागि नेप्सेबाट १०५ रुपैयाँ ३६ पैसादेखि ३१६ रुपैयाँ ०८ पैसा पाउने देखिन्छ । आईपीओ निष्कासन गरेको कम्पनीलाई धितोपत्र दोस्रो बजारमा नेप्सेले वास्तविक प्रतिसेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्म मूल्य रेन्ज दिने गर्छ ।