
दुइ चार दिन भयो
त्यो त्यही छ!
घरमुनी, गोठमाथी
बढहरको डालीमा।
एकाग्र
अनि एकचित्त
कति सकेको हेर! रातभर त्यही।
उशाले आखा उघारीसकेर
ओजस्वी किरणहरु बिस्तारै
तापमा परिणत हुदै गर्दा
उसले हेर्छ वरीपरी
पल्याकपुलुक!
टाउको बटार्दै।
त्यहीमुनी
एउटा मुल छ।
बेला बेला एउटा बकुल्लो पनि
त्यही चरिरहन्छ खेतका आलिमा
न तिन्लाइ एक अर्काको चासो।
पलेटी कसेर शुन्यतामा षटकोणभित्र
एउटा कोणले आकाशतिर
अर्को कोणले धर्तीतिर
खिचिरहदा:
त्यही शुन्यताको मुलमा
मेरो मोल खोज्दै घुमिरहेछु।
आकर्षण र बिकर्षणको चापमा
पिण्ड बनेर झुन्डिदा, अनायासै!
अवतरित चेतनाले धर्तीमा तान्दा
दिग्भ्रमित मानसपटल
त्यही लाटोकोसेरोको
ध्यानमा केन्द्रीत थियो।
आंखा उघारेर हेर्दा,
त्यो निशाचर! फेरी,
अध्यारोको खोजीमा
उडिसकेको थियो।
हेमराज बास्तोला

