संस्कृतिलाई पर्यटनसँग जोड्न पोखरामा ‘तीज सांस्कृतिक महोत्सव-२०८१’

-


     मर्दी न्युज    
     भाद्र १७ गते २०८१ मा प्रकाशित


पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) आयोजनामा पोखरामा ‘तीज सांस्कृतिक महोत्सव–२०८१’ हुने भएको छ ।

‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित महिलाहरुको महान् पर्व हरितालिका तीज अवसरमा टेवानले दोस्रो संस्करणको रुपमा उक्त महोत्सव आयोजना गर्न लागेको हो ।

पोखरामा आइतबार पत्रकार सम्मेलन गर्दै टेवान अध्यक्ष कमला गिरीले नेपालको संस्कार, संस्कृति, कला, धर्म कसरी पर्यटनमा जोड्न सकिन्छ भन्ने उद्देश्यले गत वर्षदेखि तीज सांस्कृतिक महोत्सव आयोजना गरेकोमा यसपालि पनि निरन्तरता दिइएको बताइन् ।

उनका अनुसार यही भदौ २१ र २२ गते लेकसाइडको वाराहीघाटमा उक्त महोत्सव हुनेछ । सो अवसरमा सांस्कृतिक तीज गीत प्रतियोगिता, खेलकुदका कार्यक्रम, बहस लगायत कार्यक्रम हुने छन् ।

महोत्सवका अवसरमा सांस्कृतिक तीज गीत प्रतियोगिता, खेलकुद, पर्यटन सम्बन्धित बहसलगायतका कार्यक्रम हुने महासचिव अनिता खड्का भट्टराईले जानकारी दिइन्। उनका अनुसार महोत्सवको पहिलो दिन बिहान १० बजे वाराहीचोकदेखि सांस्कृतिक झाँकीसहितको ¥याली गर्दै वाराहीघाटस्थित नेपाल ट्रष्टको चौरमा महोत्सवको औपचारिक उद्घाटन गरिने छ।

उक्त दिन सांस्कृतिक कार्यक्रम एवम् तीज गीत प्रतियोगिता सुरु हुनेछ। त्यस्तै दोस्रो दिन खेलकुदका कार्यक्रमसँगै तीज सन्दर्भमा महिला सशक्तीकरण, पर्यटन तथा संस्कृति विषयमा समूहगत छलफल गरिनेछ। संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्री खुस्बु ओली र डा राजु अधिकारीबीच छलफल हुनेछ।

प्रतियोगिताका लागि हालसम्म १६ वटा समूहले दर्ता गरिसकेको कार्यक्रम संयोजक शान्ता तिमिल्सिनाले जानकारी दिइन्। पर्यटन प्रवद्र्धनसम्बन्धी र महिला उद्यमशीलता विषयमा प्रतियोगीले तीज गीत प्रस्तुत गर्नुपर्नेछ।

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः रु ३० हजार, रु २० हजार, रु १५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै सान्त्वना हुने १० समूहलार्ई रु पाँच हजारका दरले नगद र प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट नृत्य र भेषभूषासहित झाँकी प्रदर्शन गर्नेलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

पत्रकार सम्मेलनमा टेवानका सल्लाहकार वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेर मात्र नहुने बताउँदै सरकारले आवश्यक कार्ययोजना ल्याउनुपर्नेमा जोड दिए। सल्लाहकार बोबरजंग गुरुङले पदमार्गहरू हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै हालै सार्वजनिक गरिएको गुरुङ सम्पदा पदमार्ग एउटा महत्वपूर्ण विकल्प हुने धारणा राखे। पोखरा पर्यटन राजधानी घोषण भैसकेका अवस्थामा अब यसको दायरालाई फराकिलो बनाउनु आवश्यक भएको उनको भनाइ छ।

त्यस अवसरमा संस्थाका निवर्तमान अध्यक्ष रेणु थापा, उपाध्यक्ष प्रभा सुवेदी, सचिव शोभा अधिकारी पौडेललगायतले महोत्सवलाई सफल बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरिएको बताए।