
पोखरा । नेपाल पर्वतारोहण सङ्घ, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको संयुक्त आयोजनामा पर्वतीय पर्यटनका पथप्रदर्शकका लागि साउन १८ गतेदेखि पोखरामा सञ्चालन गरिएको छ दिवसीय तालिम सम्पन्न भएको छ ।
गण्डकी अल्पाइन क्लब र काठमाडौँ इन्भाइरोलमेन्टल एजुकेशन प्रोजेक्ट (किप)को प्राविधिक सहयोगमा ‘जङ्गलमा प्राथमिक उपचार, नक्सा पठन, पहाडी पैदल यात्रा, नेभिगेसन’ विषयक छ दिवसीय तालिम आज सम्पन्न भएको हो ।
तालिममा सहभागी ३० जना प्रशिक्षार्थीहरुलाई समापन समारोहका प्रमुख अतिथि एवम् पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपिबहादुर भट्टराईलगायतले प्रमाणपत्र वितरण गरेका थिए ।
संयोजक भट्टराईले पर्वतीय पर्यटनलाई व्यवस्थित, प्रभावकारी र समयसापेक्ष बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको तालिमबाट सहभागीहरुले सिकेको ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । प्रदेशका पदप्रदर्शक तथा आरोहीको निम्ति निकट भविष्यमा तालिम तथा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्ध पनि उनले गरे ।
नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका अध्यक्ष विकास गुरुङको अध्यक्षतामा सम्पन्न समापन समारोहमा पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेल, प्रशिक्षक एसएसपी डा. अभिमन्यू श्रेष्ठ, संघका सल्लाहकार वाशुदेव त्रिपाठी, पूर्व अध्यक्ष जीवनराज सापकोटा, मनराज गुरुङलगायतका वक्ताहरुले प्रशिक्षार्थीहरुलाई शुभकामना व्यक्त गरेका थिए ।

