
पोखरा । कर्मफ्लाइट्स फाउन्डेशन नेपालले नेपाल एपीएफ मुक्तिनाथ फिल्ड अस्पताल, मालेपाटनसँग संयुक्त रूपमा एकदिने पर्वतीय विपद् व्यवस्थापन र प्राथमिक उपचार सम्बन्धि तालिम सम्पन्न गरेको छ।
गत मंगलवार पोखरामा सम्पन्न तालिममा सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) कालिका गण पोखराको विपद व्यवस्थापन टोली र नेपाल रेडक्रस सोसाइटी, कास्कीले म्यानिकिनसहितको सिपिआर सहयोग प्रदान गरेका थिए ।
जम्मा ३५ जना सहभागीमध्ये कर्मफ्लाइट्सका विपद् व्यवस्थापनमा सक्रिय स्टाफहरु, बोर्डका सदस्य, प्याराग्लाइडिङ पाइलटहरू, कर्मट्रे्क्ससँग आवद्ध गाइडहरू र एपीएफ अस्पतालका अग्रपंक्तिका सुरक्षाकर्मीहरू सक्रिय रूपमा संलग्न भएका थिए ।
कार्यक्रमको अध्यक्षता तथा प्रमुख प्रशिक्षकमध्ये एक नेपाल एपीएफ मुक्तिनाथ फिल्ड अस्पताल, पोखराका इन्स्पेक्टर डा. अकर्षा श्रेष्ठ र उनको प्रारामेदिक टोलीले एक्युट माउण्टेन सिक्नेस–एएमएस (लेक लाग्ने), प्राथमिक उपचार साथै सिपिआर सम्बन्धि प्रशिक्षण र एपीएफ विपद् व्यवस्थापन, गण्डकी प्रदेशका प्रमुख प्रशिक्षक इन्स्पेक्टर बिनोद पौडेल र उनको टोलीले उच्च हिमाली क्षेत्रमा विपद् व्यवस्थापन, डोरीको प्रयोग र पर्वतीय उद्धारसम्बन्धी व्यावहारिक सत्र सञ्चालन गरेका थिए।
उद्घाटन मन्तव्य दिंदै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ५ का अध्यक्ष बिष्णुप्रसाद बरालले भने,– “यस्ता तालिमहरूले हामीलाई आकस्मिक विपद् आउँदा तयार बनाउँछन् र जीवन बचाउन मद्दत गर्छन्। गाइड र अग्रपंक्तिमा काम गर्नेहरू प्रायः डाक्टर नभएका दुर्गम क्षेत्रमा पहिलो उद्धारकर्ता हुने भएकाले उनीहरू दक्ष र सक्षम हुनु आवश्यक छ ।”
संस्थाका स्वास्थ्य संयोजक तथा तालिम संयोजक कृष्णप्रसाद पाण्डेले संस्थाले विगत १५ वर्षदेखि विपद् उद्धार, राहत, पुनःस्थापना र सामाजिक विकासमार्फत जीवन सामान्यीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको, साथै विभिन्न सरकारी निकाय र स्थानीय तहसँग सहकार्य र साझेदारी गर्दै मानव कल्याणका कामहरू गर्दै आएको जानकारी दिए।
उनले हाल नेपाल एपीएफ मुक्तिनाथ फिल्ड अस्पतालका इन्चार्ज डा. अकार्शाको सक्रियतामा यो विपद् व्यवस्थापन तालिम सफल भएको उल्लेख गर्दै आगामी दिनमा स्वास्थ्य शिविर र यस्ता तालिमहरू गर्न साझेदारीको लागि अपिल गरे।

तालिमका क्रममा सहभागीहरूलाई पर्वतीय जोखिमहरू तथा विपद् जोखिमबारे सचेतना दिलाइएको थियो। मौसम परिवर्तन, हिमपहिरो, पहिरो, नदी पार गर्ने तरिका र उच्च हिमाली क्षेत्रका विभिन्न उचाइका असरहरूबारे विस्तृत जानकारी दिएका थिए। साथै, खोज तथा उद्धारका आधारभूत सीपहरू, आपतकालीन डोरीको प्रयोग, जमीनबाट आकाशमा दिने संकेतहरू (एसोएस भी एक्स), आकस्मिक उद्धार, स्ट्रेचर बिना घाइते बोक्ने तरिका, डण्डी वा अन्य सामग्री प्रयोग गरेर अस्थायी स्ट्रेचर बनाउने विधि र उद्धार निकायसँग समन्वय गर्ने तरिकामा पनि व्यावहारिक प्रशिक्षण दिइएको संस्थाका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले जानकारी दिए।
प्रशिक्षक इन्स्पेक्टर पौडेलले भने, “सधैं जोडीमा काम गर्न, तयारीसहित स्रोतसाधन लिएर हिड्न, सानो घटना पनि गम्भीर रुपले लिन र सधैं सतर्क रहन सुझाए ।”
डा. अकार्शाका अनुसार, यी सबै अभ्यासहरूले सहभागीहरूलाई विपद् परिस्थितिमा तुरुन्त पहलकदमी लिन सक्षम बनाएको विश्वास लिइन ।
तालिमपछि आफ्नो अनुभव बाँड्दै गाइड र पाइलटहरूले तालिम निकै उपयोगी, सोचेभन्दा पनि धेरै राम्रो भएको र अब पर्वतीय पदयात्रा क्षेत्रमा अझै दक्ष गाइड र उद्धारकर्ता बन्न सीप सिकाएकोमा संस्थाप्रति आभार प्रकट गरेका थिए।


