
जल तथा मौसम विज्ञान विभागले मौसम तथा बाढीसम्मन्धी भ्राकम तथा अपुष्ट सूचना सार्वजनिक भइरहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
विभागकी प्रवक्ता विभूति पोखरेलले त्यस्ता सूचनाको विश्वास नगर्न अनुरोध गर्दै विभागको आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमा प्रेषित सूचनाहरू प्रयोग गर्न अनुरोध गरेका छन् ।
पाेखरेलद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, “हाल विभिन्न व्यक्ति तथा निकायले सामाजिक सञ्जाललगायतका माध्यममार्फत मौसम तथा बाढीसम्बन्धी भ्रामक तथा अपुष्ट पूर्वसूचना सम्प्रेषण गर्ने कार्य भइरहेका कारण सर्वसाधारणमा अन्योल सृजना भई जनगुनासाहरू प्राप्त भएकाले यस विभागको ध्यानाकर्षण भएको छ ।”
उनले मौसम तथा बाढीसम्बन्धी पूर्वसूचना अतिसंवेदनशील विषय भएकाले आधिकारित सूचना प्रयोग गर्न अनुरोध पनि गरेका छन् ।
विभागले आज जारी गरेको सूचनामा भनिएको छ, “मौसम तथा बाढीसम्बन्धी पूर्वसूचना अतिसंवेदनशील विषय भएकाले तल उल्लेखित विभागको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमा प्रेषित सूचना प्रयोग गर्न आम सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवालामा हार्दिक अनुरोध गरिन्छ ।”
मनसुन क्रमशः कमजोर हुँदै
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन क्रमशः कमजोर हुँदै गएको बताएको छ ।
आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधरणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थान र तराईका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा साधरणतया बदली र अन्य भागमा आंशिक बदली रहनेछ । गण्डकी प्रदेशका पहाडी तथा तराईलगायत वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

