
बागलुङ । निसीखोला–२, अर्नाकोट बागलुङमा शनिवार सम्पन्न एक दिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ । शिविर कर्मफ्लाइट्स फाउन्डेशन नेपाल र नेपाल एपीएफ मुक्तिनाथ फिल्ड अस्पताल पोखरा (सशस्त्र प्रहरी बल, नेपाल)को संयुक्त आयोजनामा, निसीखोला गाउँपालिकाको समन्वयमा सञ्चालन गरिएको हो ।
वडा अध्यक्ष कुबिर विश्वकर्माले गरेको उद्घाटनमा अर्नाकोटसहित छेडा, थुम्ना, सिन्डेरी, डेलढारा, खलबाङ, जडभरा, निन्नेचौर, चौर, घाम्पु, पाखापानी तथा ढोरपाटनका विभिन्न वडाबाट करिब २८० सेवाग्राही स्वास्थ्य परीक्षणका लागि सहभागी भए । करिब २८० जना सेवाग्राही (२०० महिला र ८० पुरुष) ले स्वास्थ्य परीक्षण गरी लाभ लिएको र त्यसमध्ये १९० जनाले मधुमेह जाँच समेत गरेका थिए । सहभागीमध्ये अधिकांश ज्येष्ठ नागरिक र बालबालिका रहेका थिए ।
शिविरको नेतृत्व कर्मफ्लाइट्स फाउन्डेशनका स्वास्थ्य समन्वयक कृष्णप्रसाद पाण्डे र एपीएफ फिल्ड अस्पताल पोखराका प्रमुख चिकित्सक डा. आकर्षा श्रेष्ठले गरेको थियो । साथै एपीएफ फिल्ड अस्पतालका तीन जना स्वास्थ्यकर्मी र अर्नाकोट स्वास्थ्य इकाईका चार जना स्वास्थ्यकर्मी सहितको टोलीले सेवा पुर्याएको थियो । शिविरको व्यवस्थापनमा अर्नाकोट माविका शिक्षक र विद्यार्थीहरूले सक्रिय सहयोग गरेका थिए ।

डा. श्रेष्ठले अर्नाकोटमा स्वास्थ्य शिविरमा सेवा दिन पाउँदा गर्व महसुस भएको बताउँदै समुदायलाई सहज स्वास्थ्य सेवा आवश्यक रहेको उल्लेख गरे । उनले स्थानीयको सरलता, आत्मीयता र अर्नाकोटको अनुपम दृश्यप्रति प्रशंसा व्यक्त गर्दै, सशस्त्र प्रहरी बल केवल सीमाको सुरक्षामै नभई विपद् व्यवस्थापन र नागरिक स्वास्थ्य सेवामा पनि संलग्न हुने संस्था भएको प्रष्ट पारे । त्यस्तै, स्वास्थ्य समन्वयक कृष्ण पाण्डेले आठ वर्षअघि पहिलो शिविर सञ्चालन गरेको स्मरण गर्दै अर्नाकोटप्रति आत्मीय सम्बन्ध रहेको बताए । उनले मद्यपान गर्ने बानीमा सुधार देखिए पनि क्याल्सियम कमी र फलफूल अभाव अझै चुनौती रहेको बताउँदै, स्याउ खेतीलाई भविष्यमा पोषण र स्वास्थ्य सुधारको आशा जगाउने सकारात्मक पहलको रूपमा व्याख्या गरे ।
कर्मफ्लाइट्सका राष्ट्रिय निर्देशक प्रेम बहादुर कुँवरले विद्यालय, खानेपानी, विद्युत् तथा स्वास्थ्य पूर्वाधारमार्फत अर्नाकोट र समग्र निसीखोला गाउँपालिकामा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै शिविरलाई सामुदायिक आत्मबल बढाउने अवसर भएको बताए ।

