
फाईल फोटोः © Christoph Moning
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पहिलो पटक ठूलो घाउके हावासिलको अभिलेख गरिएको छ ।
अंग्रेजीमा ह्वाईट पेलिकान भनिने यस प्रजाति यसअघि नेपालका अन्य केही भागहरूमा सीमित सङ्ख्यामा अवलोकन भए पनि चितवनमा भने यो प्रजाति अहिलेसम्म अभिलेख नभएको तथ्यलाई यो अवलोकनले तोडेको छ ।
आज शनिवार, भदौ २८ गते भरतपुर–१७, गजिपुर नजिकैको मदन भण्डारी पार्क छेउ नारायणी नदीमा मनिष लिम्बु, हठन चौधरी, सुमन लामा, हरि अधिकारी, सुवास गुरुङ, अश्विन गुरुङ र राजन गुरुङ ले यस दुर्लभ प्रजातिको सफल अवलोकन गरेका हुन् ।
ठूलो घाउके हावासिल ठूलो आकारको जलपक्षी हो, जसको शरीर पूर्णतया सेतो देखिन्छ र पखेटाको टुप्पोभागमा मात्र कालो पंख हुन्छन्। यसको सबैभन्दा प्रमुख विशेषता लामो, बाक्लो र पहेंलो–गुलाबी मिश्रित चोचो हो जसको तलपट्टि ठूलो थैली जस्तो भाग हुन्छ, जसको प्रयोग माछा समात्न र पानी छान्न गरिन्छ। टाउको र घाँटी प्रायः लामो हुन्छन् भने खुट्टा पहेंलो–गुलाबी रंगका हुन्छन् । उड्दा यसले पखेटा विस्तार गर्दा लगभग तीन मिटरभन्दा बढी फैलावट देखिन्छ र सेतो शरीर र कालो पखेटाको टुप्पोले आकाशमा निकै आकर्षक रुपमा देखिन्छ । सामान्यतया यो प्रजाति ताल, नदी तथा तटीय क्षेत्र वरिपरि ठूलो झुण्डमा बस्ने गर्छ ।
यो नयाँ अभिलेखसँगै चितवन राष्ट्रिय निकुञ्जमा पंछी प्रजातिको आधिकारिक सङ्ख्या ६६९ पुगेको छ । जैविक विविधताले समृद्ध चितवन क्षेत्रमा यस्तो नयाँ अभिलेख हुनु निकुञ्ज र आसपासका समुदायका लागि उत्साहजनक समाचार हो । यसले चितवनलाई अन्तर्राष्ट्रिय स्तरमै पंछी अवलोकनको महत्वपूर्ण गन्तव्यका रूपमा अझ सुदृढ बनाउन सहयोग गर्नेछ भन्ने विश्वास गरिएको छ ।

