एमालेको युवा संघलाई र्‍याली र सभा गर्न काठमाडौँ प्रशासनले लगायो रोक

-


     मर्दी न्युज    
     असाेज २४ गते २०८२10 मा प्रकाशित


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नेकपा एमाले सम्बद्ध युवा संघलाई मोटरसाइकल र्‍याली र सभा गर्न रोक लगाएको छ ।

युवा संघले शनिबार काठमाडौँमा मोटरसाइकल र्‍याली आयोजना गर्ने घोषणा गरेको थियो । तर काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कुनै पनि समूह वा संगठनलाई र्‍याली, जुलुस र सभा जस्ता कार्यक्रम गर्न अनुमति नदिइएको जनाएका छन् ।

युवा संघ अध्यक्ष क्षितिज थेबेले असोज २५ गते तीनकुनेबाट मोटरसाइकल र्‍याली निकाल्ने सूचना जारी गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले भने युवा संघको नाम उल्लेख नगरी जारी गरेको सूचनामा विभिन्न समूहहरूबाट हुने भनिएका र्‍याली, जुलुस, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरूले सुरक्षा चुनौती बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुने उल्लेख छ ।

सूचनामा थप लेखिएको छ, ‘यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्‍याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ ।’