
लमजुङ । पर्यटकहरुको चाप बढेसँगै व्यवस्थापनमा समस्या हुन थालेपछि लमजुङ प्रहरीले पर्यटकहरुलाई परामर्श दिन थालेको छ । मनाङमा आन्तरिक तथा बाह्य पर्यटकहरुको उल्लेख्य आगमन भएको र पर्यटकहरुलाई बास व्यवस्थापनमा समेत समस्या हुने गुनासो आएपछि प्रहरीले सहजताको लागि सहायता गरेको हो ।
विश्व प्रसिद्ध अन्नपुर्ण पदमार्गमा आएका आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लमजुङ प्रहरीले परामर्श सेवा दिन शुरु गरेको लमजुङ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङले प्रहरी चौकी खुदी मार्फत मनाङ प्रवेश गर्ने पर्यटकहरुलाई यात्रा सहजताका लागि परामर्श सेवा शुरु गरेको हो ।
पर्यटकहरुको चापले उत्तरी लमजुङ र मनाङका होटलहरु भरिएपछि मनाङ प्रवेश गर्नु अघिनै गासबासको व्यवस्थापन सुनिश्चित गरेर जान प्रहरीले पर्यटकहरुलाई आग्रह गर्दै आएको छ । प्रायः आन्तरिक पर्यटकहरु विना योजना तथा तयारी भ्रमणमा निस्कने हुँदा सिमित होटलहरु भएका स्थानहरुमा धेरैले सास्ती पाउनुपरेको छ । होटलको क्षमता भन्दा बढि पर्यटक हुँदा अधिक मात्रामा पर्यटकहरु किचन, डाईनिङ कक्षहरुमै सुत्नुपर्ने बाध्यता भएको छ ।
अव्यवस्थीत बास हुँदा शारिरिक रुपमा कमजोर हुने र स्वास्थ्य सम्बन्धी गम्भीर समस्या समेत हुनसक्ने भएकोले आफ्नो यात्रा तथा गन्तव्यहरुमा गासबासको सुनिश्चितता गरेर मात्रै हिड्न प्रहरीले गरेको छ । प्रायः आन्तरिक पर्यटकहरु हतारमा यात्रा गर्ने हुँदा जोखिम बढ्ने भएकोले त्यसका लागि अन्नपुर्ण पदमार्गको प्रवेशद्धार खुदीमा आवश्यक परामर्श दिईएको लमजुङको प्रहरी निरिक्षक अभिषेक पाण्डेले बताए ।
तिहार देखि छठपर्व समेतको लामो विदा भएकोले यतिवेला लमजुङ सदरमुकाम बेसीशहरसहित अन्नपुर्ण पदमार्गका होटलहरुमा बास पाउनै मुस्किल भएको छ । खासगरी मनाङको खाङसार, तिलिचो बेस क्याम्प, थोरङला तर्फ याकखर्क, थोरङला बेस क्याम्प, हाईक्याम्प लगायतका स्थानमा तयारी विना पुगेका पर्यटकहरुलाई खान बस्ननै समस्या भएको हो ।
अन्नपुर्ण पदमार्ग सहित लमजुङका व्यवसायिक होमस्टेहरुमा पनि यतिवेला पर्यटकहरुको उल्लेख्य बृद्धि भएको छ । सोमबारसम्म सार्वजनिक विदा भएकोले केहिदिन पश्चात आन्तरीक पर्यटक आगमनको चाप कम हुने अनुमान गरीएको छ ।

