
फोटोः धिरज चौधरी
चितवन । नेपालका लागि फिरन्ते प्रजातिमा सुचिकृत दुर्लभ पंछी वैकाल मुसेफिस्टो (Baikal Bush Warbler) चितवनमा २६ वर्षपछि दोस्रो पटक अभिलेख गरिएको छ । यो अभिलेख नेपालमा चौथो रेकर्ड मानिन्छ ।
यस अघि सन् २०१२ मा चराविद फिलिप राउण्ड र डा. हेमसागर वरालले कोशी वाइल्डलाइफ क्याम्पमा अध्ययनका क्रममा यो प्रजाति भेट्टाएका थिए । त्यस अध्ययन पश्चात यस प्रजाति “थोप्ले मुसेफिस्टो” बाट वैज्ञानिक पुनर्वर्गीकरणपछि उपप्रजातिको रुपमा वैकाल मुसेफिस्टो भएको थियो जुन नेपालका लागि आधिकारिक नयाँ प्रजातिमा थपीएको थियो ।
हालको यस अभिलेख अक्टोबर ११, २०२५ मा चितवनको खैरहनी नगरपालिका सुण्डी फुटबल ग्राउण्ड नजिक पंछी अवलोकनका क्रममा चराविद धिरज चौधरीले फोटोसहित प्रमाणित गरेका हुन् ।
त्यसभन्दा अघि चितवनमा सन् १९९९ मा चराविद लिण्डा, उनका श्रीमान, शम्भु घिमिरे र पाउल होल्डले “थोप्ले मुसेफिस्टो” भनेर कल रेकर्ड गरेका थिए । उपप्रजातिको वैज्ञानिक पुनर्वर्गीकरणपछि त्यो रेकर्ड वैकाल मुसेफिस्टोमै पर्ने पुष्टि भएको चराविद डा. वरालले जानकारी दिएका छन् ।
त्यसैगरि अघिल्लो वर्षको हिउँदमा यस प्रजातिको कोशी टप्पु वन्यजन्तु आरक्ष र आरक्ष वाहिरका क्षेत्रहरुमा भेटिएको नेपालका संकटापन्न प्रजातिको रातो कितावमा उल्लेख गरिएको छ ।
यो प्रजाति समुन्द्री सतहको ७५ मिटर उचाईमा भेटिएको र चिनमा स्थानिय आवासिय प्रजाति रहेको छ भने प्रजनन गर्ने क्षेत्रमा कोरिया, रुसको पूर्वीय क्षेत्रहरुमा प्रजनन गरिएको साथै भारत, लाओस, म्यानमार र थाईल्याण्ढमा प्रजनन समय भन्दा वाहिर भेटिएको वर्डलाईफ ईन्टरनेशनलको सन् २००६ मा प्रकाशित वुलेटिनमा व्याख्या गरिएको छ ।
यो महत्वपूर्ण अभिलेख नेपालमा दुर्लभ र कठिनै देखिने पंछीहरूको सूचीमा वैकाल मुसेफिस्टोको उपस्थिति पुनः पुष्टि गर्दै चितवनको जैविक विविधता थप समृद्ध र वैज्ञानिक दृष्टिले महत्त्वपूर्ण रहेको तथ्यलाई उजागर गर्दछ ।

