
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २१ औँ खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्सले प्लेअफ सम्भावना कायमै राखेको छ।
अन्तिम खेलअघि २ अंक मात्र जोडेको कर्णालीले अन्तिम जिते पनि शीर्ष चारमा रहेर प्लेअफमा पुग्नेछैन। कर्णाली याक्स लिग चरणबाट बाहिरिने पहिलो टोली भएको छ।
किनकी ४-४ अंक जोडेका पोखरा र चितवन राइनोजले एक आपसमा खेल्न बाँकी छ। जसका कारण यी मध्ये एक टोलीको ६ अंक हुनेछ भने अन्तिम खेलमा जित निकाले पनि कर्णाली बाहिरिनेछ।
सुदूरपश्चिम रोयल्स १० अंक जोडेर प्लेअफ पुगिसकेको छ। दोस्रो स्थानको विराटनगर किंग्स र तेस्रो स्थानको काठमान्डु गोर्खाजको ८-८ अंक छ भने उनीहरू प्लेअफ नजिक छन्।
कर्णालीले ६ खेल खेल्दा २ अंक मात्र छ। उसले १ खेल मात्र जित्दा ५ खेलमा पराजय भोग्यो।
आजको खेलमा जित निकालेको पोखराले पाँच खेलमा दोस्रो जित निकाल्यो भने ४ अंक जोड्यो। अब अन्तिम दुई खेलमा उसले जित निकाले प्लेअफ पुग्ने सम्भावना हुनेछ।
मंगलबार एडम रोसिङटनको शतकको मद्दतमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको विशाल लक्ष्य दिएको थियो। जुन लक्ष्य पछ्याएको कर्णाली १९ ओभरमा १६७ रनमा अलआउट भयो।
कर्णाली याक्सका लागि मार्क वाटले सर्वाधिक ५९ रन बनाए। उनले ३४ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। प्रियांक पञ्चालले १६, पवन सर्राफले १९, नाजिबुल्लाह जद्रानले २४, सोमपाल कामीले १३ रन, दिपेन्द्र रावतले १० रन बनाए।
पोखरा एभेन्जर्सका लागि बलिङ तर्फ क्रषि धवन र धनन्जय लक्सन समान ३–३ विकेट लिए। किरण ठगुन्ना, सन्दीप क्षेत्री र कुशल भुर्तेलले १–१ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङ गरेको पोखराका लागि एडम रोसिङ्टनले १०८ रनको अविजित पारी खेले । उनले ५८ बलमा ११ चौका र ७ छक्का प्रहार गरे।

