नेप्से परिसूचक सामान्य अंकले बढ्यो

-


     मर्दी न्युज    
     मंसिर २९ गते २०८२ मा प्रकाशित


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । अघिल्लो दिन आइतबार १२.५० अंकले  घटेको नेप्से परिसूचक यसदिन ६.७४ अंकले बढेको हो।

नेप्से परिसूचक ६.७४ अंकले बढेर २६०१.६१ विन्दुमा उक्लिएको छ। आइतबार परिसूचक २५ सय विन्दुमा झरेको थियो। नेप्से एकल अंकले बढे पनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ। यसदिन ३२९ कित्ता सेयर ७७ लाख ५७ हजार  ६२५ कित्ता सेयर ३ अर्ब ४४ करोड १९ लाख ३ हजार ७७० रुपैयाँमा खरिदबिक्री भए। आइतबार ४ अर्ब ७४ लाख बराबरको कारोबार भएको थियो।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव ७२, विकास बैंक शून्य दशमलव ३३, वित्त शून्य दशमलव ९०, जलविद्युत् शून्य दशमलव ०६, जीवन बीमा शून्य दशमलव ३०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५७, निर्जीवन बीमा शून्य दशमलव ०७ र व्यापार समूह शून्य दशमलव २७ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । होटल तथा पर्यटन शून्य दशमलव ११, लगानी शून्य दशमलव ०८, म्युचुअल फण्ड शून्य दशमलव ११ र अन्य समूह शून्य दशमलव १७ प्रतिशतले घटेको छ ।

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य छ दशमलव ९५ प्रतिशतले घटेको छ ।