हिमाली क्षेत्रमा मौसम प्रतिकूल भए वैकल्पिक कार्यतालिका अपनाइने प्रधानमन्त्रीको संकेत

-


     मर्दी न्युज    
     माघ २० गते २०८२ मा प्रकाशित


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न गराउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै हिमाली जिल्लामा मौसम अनुकूल नहुँदा मतदान प्रक्रिया वैकल्पिक चरणमा सञ्चालन गर्न सकिने संकेत दिएकी छन्। 

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-१ स्थित हात्तिखोरमा आयोजित राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भई फर्किने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो धारणा राखेकी हुन्।

प्रधानमन्त्री कार्कीका अनुसार निर्वाचन सफल बनाउन आवश्यक सबै सहयोग सरकारको तर्फबाट उपलब्ध गराइनेछ। कम मतदाता रहेका दुर्गम स्थानमा सवारीसाधन प्रयोग गरी मतदातालाई मतदान केन्द्रसम्म पुर्‍याउने व्यवस्थासमेत गरेर भए पनि मतदान प्रक्रिया पूरा गरिने उल्लेख गर्दै उनले असम्भव अवस्था सिर्जना भएमा दोस्रो चरणमा निर्वाचन गराउने विकल्प खुला राखिने बताइन्।

हालसम्म निर्वाचन स्थगनसम्बन्धी कुनै प्रस्ताव वा अवस्था नआएकाले निर्धारण गरिएको मितिअनुसार फागुन २१ गते हुने निर्वाचनप्रति ढुक्क भएर तयारीमा जुट्न उनले सबै पक्षलाई आग्रह गरिन्। समयमै निर्वाचन सम्पन्न भई नवनिर्वाचित जनप्रतिनिधिले राज्य सञ्चालनको जिम्मेवारी सम्हाल्दै देशलाई नयाँ दिशातर्फ अघि बढाउने विश्वास पनि प्रधानमन्त्री कार्कीले व्यक्त गरिन्।

विशेष परिस्थितिमा आयोजना हुन लागेको निर्वाचन भएकाले केही चुनौती देखिन सक्ने भए पनि ती समस्याको समाधान गर्दै निर्वाचन प्रक्रिया सम्पन्न गरिने उनले स्पष्ट पारेकी छन्।