शिक्षाशास्त्र सङ्कायमा विद्यार्थी अभिमुखीकरण

-


     मर्दी न्युज    
     माघ २१ गते २०८२ मा प्रकाशित


पोखरा । पृथ्वीनारायण क्याम्पस, शिक्षाशास्त्र सङ्कायमा स्नातकोत्तर तह प्रथम सत्रमा भर्ना भएका विद्यार्थीहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

गत सोमवार सम्पन्न कार्यक्रममा अङ्ग्रेजी शिक्षाका सहप्रा. डा. नवराज न्यौपानेले सेमेस्टर प्रणालीमा आधारित भई प्राध्यापक तथा विद्यार्थीले खेल्नुपर्ने भूमिकाका बारेमा प्रकाश पारेका थिए । न्यौपानेले सेमेस्टर प्रणालीबाट विद्यार्थीहरूलाई नियमित भई सिकाइमा सहभागी हुनुका साथै राष्ट्रका लागि आवश्यक पर्ने उच्चस्तरीय जनशक्ति उत्पादनमा सहयोग पुग्ने हुँदा सत्र प्रणालीमा आधारित कार्यक्रमको महत्त्व रहेको स्पष्ट पारे।

यस क्रममा उनले सत्र प्रणालीमा आधारित शिक्षण सिकाइका उद्देश्य, सिकाइ सहजीकरण प्रक्रिया, आन्तरिक र बाह्य मूल्याङ्कनका आधार लगायतका विषयमा विद्यार्थीलाई अभिमुख गराएका थिए ।

प्रमुख आमन्त्रित व्यक्तित्व क्याम्पस प्रमुख प्रा. डा. हरिप्रसाद पाठकले क्याम्पसको गरिमा बढाउनमा शिक्षाशास्त्र सङ्कायको महत्त्वपूर्ण भूमिका रहेकोमा सबैप्रति आभार व्यक्त गरेका थिए । यस क्रममा उनले विद्यार्थीले उत्कृष्ट क्याम्पस छनोट गरी भर्ना हुन आएकामा विद्यार्थीहरूलाई स्वागत गर्दै उनीहरूलाई उज्ज्वल भविष्यको कामना गरेका थिए । यसैगरी उनले नेपालको शैक्षिक विकासमा पृथ्वीनारायण क्याम्पसको ऐतिहासिक महत्त्व रहेको स्मरण गराउँदै क्याम्पसको बृहत्तर हितमा सबै पक्षबाट सहयोगको अपेक्षा राखे।

कार्यक्रममा प्रा.डा. रामनाथ ओझा, प्रा. डा. यदुनन्दन उपाध्याय, प्रा.डा. शोभाकान्त लामिछाने, सहप्रा. कमल ढकाल, सहायक क्याम्पस प्रमुख डा. महेश्वर पोखरेललगायतले क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिमा विद्यार्थी तथा प्राध्यापकको जिम्मेवारीका विषयमा विविध अनुभव तथा जानकारीहरू सम्प्रेषण गरेका थिए।

शिक्षा विभागका विभागीय प्रमुख उपप्रा. ज्योतिप्रसाद रेग्मीले स्वागत मन्तव्य दिएको उक्त कार्यक्रममा धन्यवाद ज्ञापन सहायक क्याम्पस प्रमुख डा. सुशील शर्मा भट्टराईले राखेका थिए । शिक्षाशास्त्र सङ्काय, सन्ध्याकालीन कार्यक्रमका संयोजक डा. पितृराज बास्तोलाको सभापतित्वमा भएको उक्त कार्यक्रमको सहजीकरण स्वास्थ्य तथा शारीरिक शिक्षा विभागका प्रमुख उपप्रा. कृष्णप्रसाद त्रिपाठीले गरेका थिए ।

कार्यक्रममा शिक्षाशास्त्र सङ्काय एम.एड प्रथम सत्रमा विभिन्न विषयमा भर्ना भएका करिब एक सय बिसजना विद्यार्थीको सहभागिता रहेको उपप्रा. डा. विष्णुप्रसाद शर्माले जानकारी दिए ।