बालेन शाहको चुनावी खर्च १४ लाख १७ हजार

-


     मर्दी न्युज    
     फागुन २५ गते २०८२ मा प्रकाशित


झापा-५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् ।

निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालयमा पेस गरिएको विवरणअनुसार शाहले निर्वाचन अभियानका क्रममा कूल रु १४ लाख १७ हजार २८९ खर्च भएको उल्लेख छ ।

पेस गरिएको विवरणमा विभिन्न शीर्षकमा खर्च गरिएको रकम समेटिएको छ । बालेनका तर्फबाट उनका प्रतिनिधि नवीन भण्डारीले आइतबार जिल्ला निर्वाचन कार्यालय झापामा उक्त खर्च विवरण बुझाएका हुन् । बुझाइएको विवरण अनुसार सबैभन्दा ठूलो रकम वडा स्तरीय प्रचार कार्यक्रम र घरदैलोमा खर्च भएको छ । २९ वटा वडामा गरिएको १५ दिने घरदैलो अभियानमा ५ लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।

यस्तै, १५ दिनका लागि दुईवटा सवारी साधन भाडा र इन्धनमा २ लाख १३ हजार ८०० रुपैयाँ खर्च भएको छ । प्रचार प्रसार सामग्री अन्तर्गत झण्डा र ब्याज छपाइमा १ लाख ५७ हजार ४१ रुपैयाँ तथा ब्यानर र स्टिकरमा १ लाख १९ हजार ८०८ रुपैयाँ खर्च भएको देखाइएको छ ।

अन्य खर्चहरूमा क्षेत्रीय निर्वाचन कार्यालय सञ्चालनका लागि दुई महिनाको पानी खर्च १ लाख २० हजार रुपैयाँ र स्टेसनरी खर्च २२ हजार ८२० रुपैयाँ रहेको छ । ५ पटकको हवाई भाडामा ३५ हजार रुपैयाँ र ५८ जनाको मतदाता प्रशिक्षण खाजा खर्चमा २८ हजार ९७० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ । नमुना मतपत्र छपाइमा ४९ हजार ८५० रुपैयाँ र मनोनयन दर्तामा १० हजार रुपैयाँ खर्च भएको बालेनले बुझाएको अनुसूची–४१ को खर्च विवरणमा उल्लेख गरिएको छ ।