
एमाले केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरा-९ शान्तिवनस्थित जिल्ला पार्टी कार्यालयमा बैठकमा बोल्ने क्रममा एक्कासि ढलेपछि उनलाई मणिपाल अस्पताल पुर्याइएको थियो ।
पोखराका पूर्व मेयरसमेत रहेका थापालाई प्रतिनिधि सभा सदस्यको निर्वाचन–२०८२ को समीक्षा भइरहेका बेला हृदयघात भएको थियो । कास्की-१ को निर्वाचनको समीक्षा बैठकलाई १० मिनेट सम्बोधन गरेपछि उनी हृदयाघात भई ढलेका थिए । उनलाई तुरुन्तै मणिपाल अस्पताल लगिएकामा चिकित्सकले मृत घोषित गरेको अस्पताल स्रोतले जनाएको छ ।
थापा तत्कालीन पोखरा नगरपालिकामा २०५४–२०५९ मा मेयर भएका थिए । पोखराको आधुनिक बाटो निर्माणको जस उनैलाई जान्छ । उनकै पालामा पोखराको न्यूरोड चक्ल्याइएको हो । सानो साँघुरो बाटोलाई चक्लाई फराकिलो बाटो बनाएर पोखराको विकासमा उनले महत्वपूर्ण योगदान दिएको चर्चा पोखरामा गरिन्छ । त्यतिमात्र होईन ‘श्रम सीप जुटाऔं, पोखरालाई उठाऔं’, ‘सफा, सुन्दर र स्वच्छ पोखरा’ बनाउने अभियानका अभियन्तासमेत रहेका उनलाई पोखरालाई अन्तर्राष्ट्रिय सहरसँग सम्बन्ध स्थापित गर्ने श्रेय पनि जान्छ ।
उनकै पहलमा जापानको कोमागाने सहरसँग पोखराको भगिनी सम्बन्ध स्थापित भएको एमाले नेता झपट रानाभाट बताउँछन् । पछि त्यहि सहरको नाममा पोखरा–६ लेकसाईडमा कोमागाने पार्क र पोखरा–१६ बाटुलेचौरमा कोमागाने जिल्ला अस्पताल निर्माण गर्नमा पनि थापाकै योगदान रहेको उनले बताए । त्यस्तै उनैको पालादेखि विविध क्षेत्रमा योगदान गर्ने पोखरेलीहरुलाई ‘पोखरा नवरत्न सम्मान’ले सम्मान गर्ने संस्कृतिको विकास भएको रानाभाटले बताए । थापालाई स्मरण गर्दै उनले भने,‘श्रमको सम्मान गर्ने संस्कृति र महिला सशक्तिकरणमा पनि उनको उत्तिकै योगदान छ ।’ उनका अनुसार महिला सशक्तिकरण ९पिडिडीपी० अभियान उनकै पालादेखि शुरु गरिएको हो ।

