पोखरामा २१ औं खुल्ला नेपाल प्याराग्लाइडिङ सुरु

-


     मर्दी न्युज    
     चैत्र ५ गते २०८२ मा प्रकाशित


पोखरा । पोखरामा २१ औँ संस्करणको खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा सुरु भएको यस प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरे ।

उद्घाटनका क्रममा नगर प्रमुख आचार्यले पोखराको पर्यटनमा प्याराग्लाइडिङ मेरुदण्डका रूपमा रहेको बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै प्याराग्लाइडिङ विस्थापित हुने जोखिम बढे पनि यसलाई निरन्तरता दिन विभिन्न प्रयास भइरहेको बताए ।

‘विमानस्थलका कारण संकटमा परेको यो व्यवसायलाई पुनः सञ्चालन गर्न विभिन्न चरणमा समाधानमुखी छलफल गरिरहेका छौँ,’ आचार्यले भने । उनले प्याराग्लाइडिङलाई थप व्यवस्थित बनाउन र सुरक्षा पक्षमा विशेष ध्यान दिँदै पर्यटकलाई गुणस्तरीय सेवा दिन व्यवसायीहरूलाई आग्रह गरे । पोखराको परिचय साहसिक पर्यटकीय क्षेत्रका रूपमा रहेकाले यसको गरिमा जोगाउन उनले अपिल समेत गरे ।

यसपटकको प्रतियोगिता एक्युरेसी विधामा मात्र केन्द्रित छ । प्रतियोगितामा नेपालसहित भारत, चीन, साउदी अरेबिया, उज्बेकिस्तान, इटाली र लेबनान गरी ७ देशका प्याराग्लाइडिङ पाइलटहरूले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी कुल ९० पाइलटमध्ये १४ जना महिला छन् । सहभागी खेलाडीहरूले सराङकोटबाट उडान भरेर फेवाताल किनारमा रहेको खपौदीमा अवतरण गर्ने तालिका छ ।

प्रतियोगितामा उत्कृष्ट हुनेहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । व्यक्तिगत तर्फ पुरुष विजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् भने दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिला तर्फको प्रतिस्पर्धामा प्रथम हुनेले ७५ हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

यसैगरी, सामूहिक प्रतिस्पर्धामा (टिम इभेन्ट) पहिलो हुने टोलीलाई ७५ हजार, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।