
कालिगण्डकी कोरिडोर सडक अन्तर्गत बेनी-गलेश्वर खण्डमा बुधबार साँझ यात्रुबहाक बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा भारतीय तीर्थयात्री घाइते भएका छन्।
बेनी नगरपालिका-९ जलेश्वरस्थित मुस्ताङबाट भारतीय पर्यटक लिएर पोखरा फर्किँदै गरेको बस र भैरहबाबाट मुस्ताङतर्फ जाँदै गरेको ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा बसमा सवार १५ जना यात्रु सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।
दुर्घटनाको खबर पाउनसाथ तत्कालै जिल्ला प्रहरी कार्यालयबाट ट्राफिक प्रहरी सहितको टोली परिचालन भई घाइतेलाई उद्धार गरी प्रदेश अस्पताल बेनीमा उपचारका लागि पठाइएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए ।
तिमिल्सिनाका अनुसार बसमा चालक र सहचालक सहित ३४ जना सवार रहेकोमा चालक र सहचालक सहित ९ जना सकुशल रहेका छन् । बस र ट्रक एक आपसमा ठोक्किँदा अगाडिको भाग पूर्णरुपमा क्षति भएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा भारतको उत्तर प्रदेश घर भएका ६२ वर्षीय दीपकराज मित्तल,सोही ठाउँका ६३ वर्षीय शंकरलाल केशवानी, भारत मध्य प्रदेश घर भएका वर्ष ४२ की कृति शर्मा,सोही ठाउँका वर्ष ३८ का गौरव सेनी,भारतको गुजरात वस्ने वर्ष ७२ का राज अडोलिया,सोही ठाउँका वर्ष २० की सिम्रण साहा र भारत हरियाना वस्ने वर्ष ६७ का प्रेमा शर्मा घाइते भएका छन्।
भारत उत्तर प्रदेश वस्ने वर्ष ५३ की अल्का गुप्ता,भारत जयपुर राजस्थान वस्ने वर्ष ५८ का अरबिन्द भट्ट, भारतको नयाँ दिल्ली बस्ने वर्ष ६९ का रामगोपाल शर्मा, सोही ठाउँका वर्ष ४८ की बन्धना शर्मा,भारत मध्य प्रदेश बस्ने वर्ष ३७ कि रिचा कौशिया, सोही ठेगानाका वर्ष ३९ का गौरब कौशिक,भारत गुजरात घर भएका बर्ष ४८ का बिनित गोयल र सोही ठेगानाका बर्ष ४२ कि निरु चौधरी सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
बस चालक कास्कीको माछापुच्छ्रे गाउँपालिका ४ लाहाचोकका वर्ष ३१ का विकास जिसीको अस्पतालमा उपचार भइरहेको र ट्रक चालक पर्वतको जलजला गाउँपालिका ७ धाइरिङका वर्ष २८ का नारायण प्रसाद शर्मा प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

