
रसुवा । सरकारले दोस्रो राष्ट्रिय याक दिवस रसुवाको आमाछोदिङ्मो गाँउपालिका तीन गतलाङस्थित पार्बतीकुण्डमा मनाउने भएको छ ।
यहि वैशाख ७ गते राष्ट्रिय याक दिवस गतलाङ स्थित पार्बतीकुण्डमा मनाउने तयारी गरिएको पशुसेवा विभागले जनाएको छ ।
ग्रामिण क्षेत्रमा नै पुगी मनाउन लागिएको याक दिवसले याक जन्य वस्तुहरूको गुणस्तरीयतामा वृद्धि भई राष्ट्रिय आय वृद्धिमा योगदान दिन सक्ने र याक तथा चौरीको विकास र प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास पशुसेवा विभाग लिएको पशुसेवा बिभागका सूचना अधिकारी इन्दिरा शर्माले बताइन् ।
पछिल्लो समय जंगली जनावरको आक्रमण, जलबायू परिबर्तन, प्रजननसम्बन्धी समस्या, विकट भौगोलिक अवस्था तथा चरण क्षेत्रको समस्याका कारण हिमाली क्षेत्रमा याक चौरीको संख्या घटिरहेको अवस्थामा गतलाङमा गर्न लागिएको याक दिवसले रसुवा जिल्लाका चौरी तथा याक पालन कृषकहरुमा नयाँ उत्साह छाएको छ ।
याक पालनले हिमाली समुदायको आय आर्जन खाध्य र पोशण सुरक्षा वातावरणीय सन्तुलन तथा प्राङ्गारिक खेतिका लागि सहयोग पुग्ने छ । याक तथा चौरीहरुमा चरण क्षेत्रमा देखिने रागेको समस्या पशु बिमा तथा समयमा उपचार पाउने आशा रसुवाका पशुपालन व्यवसायीहरुले लिएका छन ।
हिमाली क्षेत्रका तामाङ समुदायका पशुपालन व्यवसायीहरुको प्रमुख आम्दानीको श्रोत रहेको याक चीज, घिउ तथा छुर्पी लगायतका वस्तुहरु लगायत हिमाली सभ्यता र सौन्दर्यको रुपमा रहेका याकको संरक्षण प्रबर्द्धनमा जोड दिन सहयोग पुग्ने संरक्षण कर्मीहरुले बताएका छन ।
याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित वन्यजन्तुको सूचिमा राखेको छ । दिवसका अवसरमा विभागले याकको साँस्कतिक महत्व ,स्थानीय झाँकी, तथा याक चौरी पशुपालन व्यवसायीहरुको समस्यामा समेत छलफलको कार्यक्रम रहेको राष्ट्रिय पशुपन्छि श्रोत व्यवस्थापन तथा प्रबद्र्धन कार्यालयका बरिष्ठ पशु विकास अधिकृत डाक्टर केशब भट्टले जानकारी दिए ।

