पुलिमराङबासी सति घाँटु नाचको संरक्षणमा जुट्दै

-


     मर्दी न्युज    
     वैशाख १९ गते २०८३ मा प्रकाशित


पुलिमराङ, तनहुँ । कृपा र प्रीति गुरूङ ९ वर्षकी भइन् । उनीहरू दुवै ३ कक्षामा पढ्छिन् । प्रीति कृपाभन्दा करिब ५ महिनाले जेठी हुन् । कृपा कञ्चनजङ्ग सेकेण्डरी स्कुल, कोत्रेमा पढ्छिन् भने प्रीति चितवन शारदानगरमा ।

गुरुङ पोषाकमा सजिएकी कृपा र प्रीति सति घाँटु नाच्दैछन् । शिरमा धान भुटेर बनाइएको लावाको मुकुट लगाएकी उनीहरू दुवैको गीतमार्फत आँखा बन्द छन् ।


तनहुँको व्यास नगरपालिका-८ पुलिमराङ गाउँ (सहिदको गाउँ) मा कृपा र प्रीतिले पहिलोपटक सति घाँटु नाचेकी हुन् । कृपा गत वर्षबाट घाँटु नाचेकी हुन् भने प्रीति पहिलोपटक । कास्कीको मजुवास्थित मिलिजुली समाजबाट कृपाले गतवर्षबाट घाँटु नाच्न सुरू गरेकी हुन् ।

वैशाख पूर्णिमा अघि दुईदिनमात्र अर्थात् वैशाख १६ र १७ गते मात्रा उनीहरूलाई गुरूबा तथा गुरूआमाले घाँटु नाच सिकाएका हुन् ।

वैशाख १८ गते पूर्णिमाका दिनबाट विधिवत् सति घाँटु नाच्न सुरु गरेका उनीहरुले ३ दिन नाचेर भोलि २० गते समापन गर्दैछन् ।

घाँटु गुरु तीर्थबहादुर गुरुङ उमेरले ९० मा छन् भने अर्का गुरू लक्ष्मण गुरूङ ८८ वर्षमा हिंड्दैछन् । उनीहरूलाई साथ दिंदै छन् ७७ वर्षीय सन्तमान गुरूङ, खड्कबहादुर, प्रसाद, कृष्णबहादुर, क्षेत्रबहादुर, पूर्णबहादुर र मीनबहादुर गुरूङ । गुरूआमामा गुन्सरी गुरूङ र डम्बरकुमारी गुरूङ । उनीहरू उमेरले ८१ र ७८ वर्षका छन् ।

यसअघिका घाँटु गुरू नरबहादुर गुरूङ २०६६ सालमा र लालबहादुर गुरूङको २०७३ सालमा दिवंगत भएपछि २०७५ सालमा घाँटु नाचे पनि निरन्तरता दिन नसकिएको शहिद धर्म युवा क्लवका अध्यक्ष विर्खबहादुर गुरूङले बताए । उनका अनुसार गतवर्ष घाँटु नाच आयोजना गर्ने भनिएता पनि घाँटु नाच्नेहरूको अभावमा सफल हुन नसकेको बताए ।

यस्तै लोपोन्मुख अवस्थामा पुगेकाले यसलाई संरक्षण गर्न लागिपरेको टोल विकास समितका अध्यक्ष तथा शहिद धर्मध्वज आधारभूत विद्यालयका पूर्व प्रधानाध्यापक खड्कबहादुर गुरूङले बताए ।

उनका अनुसार यस नृत्यका लागि सुरुमा रजश्वला नभएका कन्यालाई लिइन्छ । मध्ययुगीन राजा परशुराम र रानी यम्फावतीको प्रतीकका रुपमा नचाइन्छ ।

परशुराम राजा र यम्फावती रानीको विवाह, प्रेम, सिकार खेलेको, युद्ध लडेको लगायतका विषयवस्तु समेटिएको हुन्छ । गीतमा मानिसको जीवनशैली, जन्म, कर्म, शृङ्गार, बिहेवारी, माछामार्ने, खेतीपातीलगायतबारे व्याख्यात्मक अभिनय गरिन्छ ।

बाह्रमासे र सती गरी घाँटु २ किमिमका भए पनि पछिल्लो समय कुसुण्डालाई पनि अर्को छुट्टै घाँटुका रुपमा चिनिन्छ । तर पुलिमराङमा सति घाँटु मात्रै नाच्ने प्रचलन छ । बाह्रैमहिना नाच्न मिल्नेलाई बाह्रमासे, माघ महिनाको श्रीपञ्चमीमा सुरु गरी बैशाख पूर्णिमामा अन्त्य गरिनेलाई सति र सति गएकी रानीलाई चिताले नपोलेपछि कुसुण्डा बनेर जंगल पसेको कथामा आधारित घाँटुलाई कुसुण्डा भनिन्छ । घाँटुको कथ्यमा भिन्नता पाइए पनि पश्रामु (परशुराम) राजा र यम्फावती रानीको जीवनगाथा यसमा छ ।

नेपाली जनजीवन प्रतिविम्वित लोपुन्मुख घाँटु हेर्न यस वर्ष छिमेकी गाउँ तथा चितवनबाट समेत आएका छन् । घाँटु हेर्न आएका पाहुनालाई दहिचामलको अक्षता लगाइदिएर घाँटुगीतबाटै आशीर्वाद दिने चलन छ । पाहुनाले पनि घाँटु नाच्नेहरूलाई गच्छेअनुसार दान दिने गर्छन् । पछि उनीहरूलाई खोई (भोज)मा आमन्त्रण गरिन्छ । त्यसबेला घाँटुनीहरू चुड्का नाच्छन् ।

पुलिमराङमा घाँटु खोई खान आउन धेरै गाउँका पाहुनाहरू ईच्छुक रहेको क्लवका अध्यक्ष विर्खबहादुर गुरूङले बताए ।