पोखरा विमानस्थल सञ्चालनलाई प्राथमिकता दिन सरकारलाई सांसद गुरुङको आग्रह

-


     मर्दी न्युज    
     वैशाख २४ गते २०८३ मा प्रकाशित


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विना गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उनले विमानस्थल सञ्चालनका लागि आवश्यक कूटनीतिक पहल तत्काल अघि बढाउनुपर्ने आवश्यकता औँल्याइन् ।

सांसद गुरुङका अनुसार नेपालको पर्यटन प्रवर्द्धनमा छिमेकी मुलुक भारत र चीनको महत्वपूर्ण भूमिका रहने भएकाले उनीहरूलाई सहज आवागमनको वातावरण बनाउन पोखरा र भैरहवा दुवै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याइनुपर्ने आवश्यकता छ ।

उनले पोखरा आसपासका तालतलैया संरक्षण र व्यवस्थापनमा पनि सरकारको ध्यान जानुपर्ने बताइन् ।

त्यसैगरी, उनले दूरसञ्चार सेवामा देखिएको नेटवर्किङ समस्याको समाधानका लागि पनि सम्बन्धित निकायलाई आवश्यक कदम चाल्न आग्रह गरेकी छन् ।