
उत्तरी चीनको शान्सी प्रान्तस्थित लिउशेन्यु कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा ९० जनाको मृत्यु भएको छ । चीनको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनाको समयमा खानीमा २४७ कामदार कार्यरत थिए ।
टोंगझोउ समूहद्वारा सञ्चालित उक्त खानीमा शुक्रबार साँझ स्थानीय समयअनुसार ७: २९ बजे विस्फोट भएको हो । घटनापछि सयौँ उद्धारकर्मी परिचालन गरिएको छ भने १०० भन्दा बढी घाइतेलाई अस्पताल लगिएको जनाइएको छ । उद्धार कार्य अझै जारी रहेको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले घाइतेको उपचार र जीवित व्यक्तिको खोजीमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छ न्। साथै, दुर्घटनाको कारण छानबिन गरी दोषीलाई कारबाही गर्न पनि आग्रह गरेका छन् ।
सरकारी सञ्चारमाध्यमका अनुसार खानी सञ्चालनसँग सम्बन्धित केही अधिकारीलाई नियन्त्रणमा लिइएको छ । प्रारम्भिक विवरणअनुसार खानीभित्र अत्यधिक विषालु कार्बन मोनोअक्साइड ग्यासको मात्रा निर्धारित सीमाभन्दा बढी भेटिएको थियो ।

