गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजदेखि

-


     मर्दी न्युज    
     जेठ ११ गते २०८३ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ ।

अपराह्न २:०० बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेस गर्नेलगायत कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिए ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा यही जेठ ५ गते बजेट अधिवेशन आह्वान गरेका थिए । वर्षे अधिवेशनका रूपमा समेत लिइने बजेट अधिवेशनमा प्रदेश सरकारको आगामी आवको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत हुने जनाइएको छ ।

जेन्जी आन्दोलनका क्रममा नदीपुरमा रहेको प्रदेश सभा सचिवालय जलेर ध्वस्त भएपछि यसपटकको अधिवेशन पोखराको मालेपाटनस्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहलमा बस्ने छ । सचिवालय अहिले रामघाटस्थित तत्कालीन पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको कार्यालयमा सरेको भए पनि त्यहाँ सभा सञ्चालनका लागि हल नभएका कारण मन्त्रालयको हल प्रयोग गर्न लागिएको हो ।