
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक रुपमा नागरिकको दैनिक जीवनस्तर उकास्न र सुशासन कायम गर्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री कार्यालयमा मंगलबार काठमाडौँ र नयाँदिल्लीस्थित युरोपेली संघ (इयु) तथा यसका सदस्य राष्ट्रका राजदूत र अन्य मित्रराष्ट्रका राजदूतहरुसँगको संयुक्त भेटमा उनले वर्तमान समयको आवश्यकता र सरकारलाई सुम्पिएको जिम्मेवारीलाई पूर्ण रुपमा बोध गरिरहेको उल्लेख गरे ।
भेटका क्रममा प्रधानमन्त्री शाहले हालै सम्पन्न निर्वाचनको परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि निर्णायक जनादेश दिएको बताए । उनले सरकार परिवर्तन भए पनि नीतिगत निरन्तरता रहनेमा राजदूतहरुलाई आश्वस्त पारे । ‘नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रुपमा अलग हुनु होइन,’ शाहले भने, ‘नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य हुने सुनिश्चित गर्दै हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रुपमा प्रतिबद्ध छौँ ।’
उनले जनताका लागि नयाँ अवसरहरु सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको बताए । बृहत् लगानी आकर्षित गर्न प्रक्रियाहरुलाई थप सहज बनाउँदै नवप्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न सरकार लागिपरेको उनको भनाइ थियो । शाहले नेपालले सन्तुलित र व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट पारे । ‘हाम्रा छिमेकी, विकास साझेदार र मित्रराष्ट्रहरुसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिका सिद्धान्तहरुद्वारा निर्देशित छ,’ उनले भने ।
नेपालको विकास र समृद्धिमा निरन्तर सद्भाव र सहयोग पुर्याउँदै आएका सबै विकास साझेदार र मित्रराष्ट्रहरुप्रति शाहले आभार प्रकट गरे । व्यापार, लगानी, हरित ऊर्जा, जलवायु र पर्यटन जस्ता प्रमुख क्षेत्रहरुमा सहकार्यलाई अझ सुदृढ बनाउन नेपाल लागिरहेको उनले बताए । विश्वका विभिन्न भागमा भइरहेका द्वन्द्वले सर्वसाधारण नागरिकले सबैभन्दा बढी पीडा भोग्नुपरेको भन्दै उनले चिन्ता व्यक्त गरे । शान्ति कायम गर्न सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनले प्राथमिकता पाउनुपर्नेमा उनले जोड दिए ।
भेटमा राजदूतहरुले नेपालमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएकोमा प्रशंसा गरेका थिए । उनीहरुले सुशासन र समृद्धिको जनादेशसहित नयाँ सरकारको नेतृत्व सम्हालेकोमा शाहलाई बधाई दिँदै नेपालको आर्थिक वृद्धि र समृद्धिका लागि विभिन्न क्षेत्रमा सहकार्य तथा लगानी गर्न तयार रहेको बताए ।

