गण्डकीमा राइड सेयरिङको भाडादर निर्धारण

-


     मर्दी न्युज    
     जेठ १७ गते २०८३ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सेवाको भाडादर तोकेको छ । राइड सेयरिङलाई कानुनी मान्यता दिने गण्डकी देशकै पहिलो प्रदेश हो । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले नयाँ नियमावली अनुसार भाडा निर्धारण गरेको हो ।

चारपाङ्ग्रे सवारी साधन प्रयोग गर्दा अब सेवाग्राहीले सुरुमै ६० रुपैयाँ बुझाउनुपर्नेछ । यात्रा जतिसुकै छोटो भए पनि सुरुवाती ६० र २ किलोमिटरको ९७ गरी न्यूनतम १५७ रुपैयाँ भाडा लाग्नेछ । त्यसभन्दा बढी दूरीका लागि प्रति किलोमिटर ४८ रुपैयाँ ५० पैसा भाडा तोकिएको छ ।

दुईपाङ्ग्रे सवारी (मोटरसाइकल र स्कुटर) को हकमा सुरुवाती भाडा ३० रुपैयाँ कायम गरिएको छ । त्यसपछि प्रति किलोमिटर १६ रुपैयाँ ८५ पैसाका दरले भाडा तिर्नुपर्नेछ । दुईपाङ्ग्रेमा यात्रा गर्दा न्यूनतम ४८ रुपैयाँ ८५ पैसा भाडा लाग्ने नियम बनाइएको छ ।

सरकारले इन्धनका आधारमा छुटको व्यवस्था समेत गरेको छ । पेट्रोलियम पदार्थबाट चल्ने सवारीले १० प्रतिशत र विद्युतीय सवारीले १५ प्रतिशत छुट दिनुपर्नेछ । मन्त्रालयकी प्रवक्ता मुना अधिकारीका अनुसार कम्पनीले आधार भाडा र दूरी अनुसारको शुल्क एपमै देखिने गरी राख्नुपर्नेछ । तोकिएको शुल्कभन्दा थप रकम लिन नपाउने व्यवस्था कडाइका साथ लागू गरिने उनले बताइन् ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपालीले मन्त्रिस्तरीय निर्णय मार्फत यो भाडादर स्वीकृत गरेका हुन् । राइड सेयरिङ (नियमन र व्यवस्थापन) दोस्रो संशोधन नियमावली २०८३ अनुसार यो निर्णय भएको हो । संघीय ऐन नआएकाले गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ को दफा १३ मा टेकेर यो नियम ल्याइएको मन्त्रालयले जनाएको छ । हाल यातायात व्यवस्था कार्यालय मार्फत राइड सेयरिङ कम्पनी दर्ता गर्ने प्रक्रिया समेत सुरु भइसकेको छ ।