नवलपरासीमा बस र ट्रक ठोक्किँदा ७ जना घाइते

-


     मर्दी न्युज    
     जेठ २५ गते २०८३ मा प्रकाशित


पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका ४ तारेभिरमा बस र ट्रक ठोक्किँदा ७ जना यात्रु घाइते भएका छन् ।

आज बिहान करिब ६:०० बजे काठमाडौँबाट भैरहवातर्फ आउँदै गरेको लु २ ख ६८२३ नम्बरको बस अचानक ब्रेक फेल भई अगाडि गुडिरहेको लु २ ख ९४९ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करपछि बस सडकको बायाँतर्फ रहेको नालीमा गई दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा बसमा सवार ७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दाङ तुलसीपुर २ का १८ वर्षीया अनिसा न्यौपानेको बायाँ खुट्टा भाँचिएको छ भने अन्य ६ जनाको मुख, नाक तथा निधारमा सामान्य चोट लागेको छ । सबै घाइतेहरूको चिसापानी अस्पताल बर्दघाटमा उपचार भइरहेको छ ।