कोशीबाट भित्रिएको मनसुन गण्डकी र लुम्बिनीसम्म फैलियो

-


     मर्दी न्युज    
     असार ८ गते २०८३ मा प्रकाशित


नेपालमा औसत समयभन्दा ६ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली मधेश, बागमती हुँदै गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागसम्म विस्तार भएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले सूचना जारी गरी कोशीबाट भित्रिएको मनसुन कोशी प्रदेशको सम्पूर्ण भूभाग हुँदै मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म फैलिएको जनाएको छ।

‘यस वर्षको मनुसन प्रणाली ८ असारका दिन कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरे स्थानमा प्रवेश गरेको छ,’ महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

यद्यपि मनसुनी प्रणाली अझै कमजोर अवस्थामै रहेकाले देशका बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्ने विभागले जनाएको छ। सामान्यतया नेपालमा मनसुन जुन १३ मा प्रवेश गर्ने भए पनि यसपालि ६ दिन ढिला गरी मनसुन भित्रिएको थियो।

मनसुनको प्रभाव विस्तार भएसँगै पूर्वी तथा मध्य नेपालका विभिन्न स्थानमा वर्षा हुने क्रम सुरु भएको छ। यसपालिको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण महाशाखाले यसअघि नै गरेको थियो।