कास्की मालपोतका पूर्वप्रमुखसहित ६ जनालाई ६ महिना कैद र जरिवाना

-


     मर्दी न्युज    
     असार ९ गते २०८३ मा प्रकाशित


पोखरा । पोखरा २६ मा रहेको अमर ज्योती माध्यमिक विद्यालयको जग्गा नक्कली सुकुम्बासी खडा गरेर हिनामिना गरेको अभियोगमा विशेष अदालतले ६ जनालाई दोषी ठहर गरेको छ । कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीसहितका व्यक्तिहरुलाई अदालतले जनही ६ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो ।

विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त राजल र डिल्लीरत्न श्रेष्ठको इजलासले सोमबार उक्त निर्णय गरेको हो । दोषी ठहर हुनेहरुमा कास्की मालपोतका पूर्वप्रमुख अधिकारीसहित भूमि आयोगका तत्कालीन अध्यक्ष गंगाप्रसाद पोखरेल, सदस्यहरु आशबहादुर गुरुङ, उमाकुमारी थापा र सोमकुमारी नेपाली रहेका छन् । यस्तै, नक्कली सुकुम्बासी बनेका भीमबहादुर विकलाई पनि अदालतले सजाय सुनाएको छ ।

अमर ज्योती माविको ३ रोपनी ३ आना जग्गा कीर्ते गरी व्यक्तिलाई हस्तान्तरण गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा परेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस प्रकरणमा गत वर्ष पुस १८ गते मुद्दा दायर गरेको थियो ।