
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. नारायणसिंह गुरुङ नियुक्त भएका छन् । प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले सिफारिस समितिको सिफारिसका आधारमा उनलाई सो पदमा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री शाहले पोखरासहित देशका विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा एकैसाथ नयाँ उपकुलपतिहरू नियुक्त गरेका छन् ।
जसअनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा डा. विवेक आचार्यले जिम्मेवारी पाएका छन् । उनी वरिष्ठ क्यान्सर रोग विशेषज्ञ हुन् । डा. आचार्य यसअघि न्याम्सको क्यान्सर विभागका प्रमुखका रूपमा कार्यरत थिए ।
यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. नविसमान सिंह प्रधान चयन भएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. स्मृति कार्कीलाई नियुक्त गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. सूर्यमान म्याहाङम्बो र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अजयकुमार मिश्र नियुक्त भएका छन् ।
यी पदहरूमा नियुक्तिका लागि सरकारले उपकुलपति छनोट तथा सिफारिस समिति गठन गरेको थियो । समितिले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३ निर्माण गरेर आवश्यक प्रक्रिया अगाडि बढाएको थियो । सोही कार्यविधि अनुसार समितिले उपकुलपति पदका लागि आवेदन माग गर्दै जेठ ४ गते सूचना प्रकाशन गरेको थियो ।
छनोट प्रक्रियामा देशभरबाट ११३ जनाले आवेदन दिएका थिए । आवेदन दिएका उम्मेदवारहरूमध्येबाट प्राप्त दरखास्तहरूको मूल्यांकन गरियो । त्यसपछि अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि समितिले प्रत्येक प्रतिष्ठानमा ७ जनाको दरले ४२ जनाको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो । सोही सूचीमा परेका व्यक्तिहरूमध्येबाट सिफारिस समितिले नाम सिफारिस गरेपछि प्रधानमन्त्रीले यो नियुक्ति गरेका हुन् ।

