धन्सारमाथि पहिरो खस्दा पुरिएका एकै घरका चार जनाको सकुशल उद्धार

-


     मर्दी न्युज    
     श्रावण १२ गते २०८३ मा प्रकाशित


जिल्ला लमजुङ, मध्य नेपाल नगरपालिका-७ भाटबेशीमा कुलो भत्किँदा आएको पहिरोले धन्सार पुरिँदा एकै परिवारका चार जना घाइते भएका छन् ।

मंगलबार बिहान करिब २:३५ बजे चितिखोलाबाट भाटबेशीतर्फ ल्याइएको कुलो भत्किएर आएको पहिरोले स्थानीय विष्णु दत्त सुवेदीको ढुंगा–माटोले बनेको दुईतले कच्ची धन्सार पूर्ण रूपमा भत्काएको हो । धन्सार भित्र रहेका चार जना पुरिएको जानकारी प्राप्त हुनासाथ बिहान इलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो ।

प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा पुरिएका चारै जनाको उद्धार गरी प्रारम्भिक उपचारका लागि चिसंखु स्वास्थ्य चौकी, रामबजार पठाएकोमा घाइते चारै जनालाई बिहान ४:१० बजे थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा रिफर गरिएको छ ।

घाइते हुनेहरूमा जिल्ला लमजुङ मर्स्याङ्दी गाउँपालिका–१ नायू घर भई हाल जिल्ला लमजुङ मध्य नेपाल नगरपालिकामा–७ भाटबेशीमा बस्ने वर्ष ५० कि शुक माया बि.क., वर्ष ५९ को टिक बहादुर बि.क.वर्ष १५ कि विनीता बि.क र वर्ष १६ कि अस्मिता बि.क. रहेका छन् ।

घटनाबारे थप अनुसन्धान तथा क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।