सुस्तामा अस्थायी माटोको बाँध हटाउने विषयमा स्थानीय र भारतीय एसएसबीबीच विवाद

-


     मर्दी न्युज    
     श्रावण १७ गते २०८३ मा प्रकाशित


पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन अस्थायी माटोको बाँध (डिल) हटाउने क्रममा स्थानीय बासिन्दा र भारतीय सशस्त्र सीमा बल (एसएसबी)बीच विवाद भएको छ। घटनापछि स्थानीयले विरोध जनाए पनि प्रशासनको पहलमा तत्कालका लागि अवस्था सामान्य बनेको छ।

स्थानीयका अनुसार सुस्ता गाउँपालिका-५ स्थित थारु टोल क्षेत्रमा निर्माण भइरहेको करिब १३२ मिटर लामो माटोको कच्ची बाँध भारतीय एसएसबीका सुरक्षाकर्मीले हटाएका थिए। त्यसपछि स्थानीय बासिन्दाले त्यसको विरोध गरेका थिए।

प्रशासन : अवस्था सामान्य, थप छलफल हुने
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बाहिर प्रचार भएजस्तो गम्भीर अवस्था नरहेको बताएका छन्। उनका अनुसार घटनामा सामान्य रूपमा निर्माण गरिएको माटोको डिलसँग सम्बन्धित विषय रहेको र अहिले परिस्थिति नियन्त्रणमा आइसकेको छ।

उनले घटनापछि सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा परिचालन गरिएको तथा सम्बन्धित पक्षबीच छलफल गरी तत्कालका लागि विवाद समाधान गरिएको जानकारी दिए। यस विषयमा थप समन्वय र छलफल आगामी दिनमा पनि जारी रहने उनले बताए।