
नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । उनलाई स्वागत गर्न पार्टीका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।
सभापति देउवाको स्वागतका लागि नेपाली काँग्रेसका पूर्व उपसभापति पूर्णबहादुर खड्का, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, आनन्द ढुंगाना, मोहन बस्नेत र विमलेन्द्र निधी लगायतका नेताहरू विमानस्थल पुगेका हुन् ।
गत फागुन १३ मा श्रीमती आरजु राणासहित सिंगापुर उडेका देउवा करिब ६ महिनापछि बिहीबार नेपाल फर्किएका हुन् । उनी उपचारका लागि भन्दै सिंगापुर गएका थिए । उनलाई विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य स्वागत गरिएको छ ।
देउवा शुक्रबार सुकेधारास्थित पार्टी प्यालेसमा आयोजना हुन लागेको संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम छ । देउवालाई स्वागत गर्न विमानस्थल पुगेका भेला आयोजक समितिका संयोजक डा.शशांक कोइरालाले गगन थापालाई पार्टी सभापतिमा अस्विकार गरेका छन्। पत्रकारहरुसँग कुरा गर्दै उनले पार्टीको सभापति शेरबहादुर देउवा नै रहेका बताएका हुन्। नेता कोइरालाले पार्टी अब एकताबद्ध भएर अगाडी बढ्ने बताए।

