
काठमाडौँ । नेपाल मिडिया सोसाइटीले जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा पक्राउ गरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ। सोसाइटीले श्रेष्ठलाई तत्काल र नि:शर्त रिहा गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
सोसाइटीका महासचिव बोधराज त्रिपाठीले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रकाशित समाचारका विषयमा कुनै गुनासो वा आपत्ति भए प्रचलित कानुन तथा प्रेससम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खोजिनुपर्ने उल्लेख गरिएको छ।
‘पत्रकारले प्रकाशित गरेको समाचारको विषयमा कुनै गुनासो वा आपत्ति भएमा प्रचलित कानुन तथा प्रेससम्बन्धी स्थापित प्रक्रियामार्फत समाधान खोजिनुपर्नेमा समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल मर्मविपरीत भएको हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ।
सोसाइटीले नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र स्वतन्त्र पत्रकारिताको अधिकारलाई लोकतान्त्रिक व्यवस्थाका आधारस्तम्भका रूपमा उल्लेख गरेको छ। समाचार प्रकाशनकै कारण पत्रकारलाई पक्राउ गर्ने वा अनुसन्धानका नाममा त्रसित बनाउने कार्यले स्वतन्त्र पत्रकारिताको वातावरणमा नकारात्मक असर पार्ने भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ।
सोसाइटीले पत्रकार तथा सञ्चारमाध्यम पनि प्रचलित कानुनको दायराभित्र रहनुपर्ने विषयमा आफू स्पष्ट रहेको जनाएको छ। तर पत्रकारिता तथा प्रकाशित समाचारसँग सम्बन्धित विषयमा कानुनी उपचार खोज्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक मूल्य, पत्रकारको व्यावसायिक अधिकार र प्रेससम्बन्धी स्थापित मान्यताको पूर्ण सम्मान हुनुपर्ने उसको धारणा छ।
‘नेपाल मिडिया सोसाइटी पत्रकार तथा सञ्चारमाध्यमले प्रचलित कानुनको पालना गर्नुपर्ने विषयमा स्पष्ट छ। तर पत्रकारिता तथा प्रकाशित समाचारसँग सम्बन्धित विषयमा कानुनी उपचार खोज्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक मूल्य, पत्रकारको व्यावसायिक अधिकार तथा प्रेससम्बन्धी स्थापित मान्यताको पूर्ण सम्मान हुनुपर्ने सोसाइटीको धारणा छ,’ विज्ञप्तिमा भनिएको छ।
सोसाइटीले श्रेष्ठलाई तत्काल र नि:शर्त रिहा गर्न माग गर्दै प्रकाशित समाचारका सम्बन्धमा कुनै कानुनी प्रश्न वा आपत्ति भए कानुनी प्रक्रियामार्फत समाधान खोज्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
स्वतन्त्र पत्रकारितामाथि हुने कुनै पनि प्रकारको दबाब, हस्तक्षेप वा दमनप्रति आफू सदैव सचेत, प्रतिबद्ध र खबरदारीमा रहनेसमेत नेपाल मिडिया सोसाइटीले जनाएको छ।

