पृथ्वी राजमार्ग खुलाउन २५ भन्दा बढी हेभी उपकरण परिचालन, साँझसम्म पूर्ण सञ्चालनको अपेक्षा

-


     मर्दी न्युज    
     भाद्र १२ गते २०८३ मा प्रकाशित


त्रिशूली नदीमा आएको बाढी र पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको धादिङ खण्डमा यातायात सञ्चालनका लागि सडक विभागले निर्माण व्यवसायीका उपकरणसमेत परिचालन गरेर काम तीव्र बनाएको छ।

धादिङको गल्छीदेखि मुग्लिनसम्म विभिन्न स्थानमा जमेको हिलो, लेदो तथा पहिरो हटाउने काम भइरहेको सडक विभागले जनाएको छ। अवरोध हटाउन २५ भन्दा बढी हेभी इक्विपमेन्ट तथा अन्य यान्त्रिक उपकरण परिचालन गरिएको छ।

बाढीका कारण पृथ्वी राजमार्गको करिब १५ किलोमिटर सडक प्रभावित भएको छ। सडक स्तरोन्नतिको काममा प्रयोग हुँदै आएका पिच प्लान्टलगायत निर्माण सामग्री तथा उपकरणमा समेत बाढीले क्षति पुर्‍याएको विभागले जनाएको छ।

सडक विभागका सिनियर डिभिजन इन्जिनियर सुरेश पौडेलका अनुसार पहिरो हटाउने कार्यमा विभागसँग अनुभव भए पनि बाक्लो हिलो र लेदो व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। निर्माण व्यवसायीका पर्याप्त हेभी मेसिन प्रयोग गरेर बैरेनीको करिब १ हजार ४ सय मिटर र जरेखेतको ४ सय मिटर सडक खण्डमा थुप्रिएको हिलो हटाइसकिएको छ।

जरेखेत क्षेत्रमा भने आवागमन अझै सहज हुन सकेको छैन। त्यस्तै पोखरे, बाँगे र गलौँदी क्षेत्रमा करिब ७ सय मिटर सडकमा अवरोध हटाउन बाँकी रहेको विभागले जनाएको छ।

सडक स्तरोन्नतिको जिम्मेवारी पाएको शर्मा-लामा जेडआईइसी कम्पनीका उपकरणसमेत परिचालन गरी बाँकी अवरोध हटाउने काम भइरहेको छ। विभागका अनुसार कामको गति कायम रहे आज साँझसम्म पृथ्वी राजमार्गलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने अपेक्षा गरिएको छ।