
फोटो: संजय था श्रेष्ठ
नेपालमा दुर्लभ रुपमा रहेको हिमाली हप्सिलोको हालै मुस्ताङको छोसेरमा अभिलेख भएको छ । पंछी अबलोकन तथा वन्यजन्तुको फोटाहरु खिच्ने क्रममा वन्यजन्तु फोटोग्राफरत्रय संजय था श्रेष्ठ, दीपक बुढाथोकी र मनिष महतोको टोलीले गत हप्ता तस्बिर सहित अभिलेख गरेका छन् ।
नेपालको उत्तर–पश्चिमी क्षेत्रमा भेटिने यस प्रजाति मध्य नेपालमा समेत अभिलेख गरिएको छ । यो प्रजाति हप्सिलोबाट छुट्टिएर अर्को प्रजाति बनेपछि सन् १९९० भन्दा अघिको यसको वास्तविक अवस्था स्पष्ट नभएको र अन्नपूर्ण संरक्षण क्षेत्र एकमात्र संरक्षित क्षेत्रमा अभिलेख रहेको नेपालका संकटापन्न चराहरुको रातो किताबमा उन्न्लेख गरिएको छ ।
यस प्रजातिको अभिलेख हालसम्म मनाङ, मुस्ताङ, नुवाकोट र हुम्लाका केहि सिमित क्षेत्रमा मात्र पाइएको जानकारी लामो समय लाटोकोसेरोको अध्ययन, अनुसन्धान तथा संरक्षणका कार्यहरु गर्दै आएका प्रकृतिका साथीहरुका निर्देशक राजु आचार्य बताउँछन् ।
नेपालमा यस प्रजातिको पहिलो अधिकारिक अभिलेख सन् २००४ को अगस्टमा माथिल्लो मुस्ताङको लोमान्थाङ उत्तरतर्फ धालुङ नदी नजिक ४,९०० मिटर उचाईमा मधु छेत्रीहरुको टिमले गरेका थिए । त्यसपछि लोमान्थाङ नजिकै ३,९०० मिटर, पाङ्गा खर्क जाने बाटोमा ३,८५० मिटर तथा मनाङको याकखर्कमा पनि यस प्रजातिको अभिलेख मधु छेत्रीहरुको टिमले गरेका थिए ।
यस बाहेक सन् २००७ मा गोर्खाको मनकामना मन्दिर बजार क्षेत्रमा प्रहरीले उद्दार गर्दै गर्दा, सन् २००९ मा नुवाकोटको रानीपौवामा ३,७०० मिटरको उचाईमा तथा सन् २०१४ मा हुम्लाको च्यकपालुङ ५,००० मिटरको उचाईमा अभिलेख गरिएको छ । अत्यन्त कम संख्यामा अभिलेख उपलब्ध भएकाले नेपालमा यसको वितरण क्षेत्र र पछिल्लो समय यसको संख्यामा आएको परिवर्तनबारे यकिन निष्कर्ष निकाल्न अझै कठिन रहेको विज्ञहरूको भनाइ छ ।
इ–बर्ड नेपालका राष्ट्रिय समीक्षक संयोजक मनशान्त घिमिरेका अनुसार सरसर्ती हेर्दा हप्सिलोसँग मिल्दोजुल्दो देखिने भएकाले तल्लो भूभागमा भेटिएका कतिपय अभिलेखहरूलाई हिमाली हप्सिलोका रूपमा गलत पहिचान गरी तथ्यांकमा राखिएको हुन सक्ने सम्भावना छ । त्यसैले यसको सही वितरण र अवस्थाबारे थप अध्ययन तथा प्रमाणसहितको अभिलेखीकरण आवश्यक रहेको उनको भनाइ छ ।
नेपाल पक्षीविद् संघका अध्यक्ष हठन राम महतोका अनुसार विश्वव्यापी रूपमा गरिएका अध्ययन तथा अनुसन्धानमा यस प्रजातिका १७ वटा उपप्रजाति पहिचान गरिएको छ । नेपालमा अत्यन्तै सीमित अभिलेख मात्र उपलब्ध रहेकाले यसको वास्तविक वितरण, संख्या र संरक्षण अवस्थाबारे स्पष्ट जानकारी लिन नियमित सर्वेक्षण, वैज्ञानिक अध्ययन तथा तस्बिरसहितको अभिलेखीकरणलाई थप प्राथमिकता दिनुपर्ने विज्ञहरूको सुझाव छ ।

