
गण्डकी प्रदेश सरकारमा मन्त्रालयको जिम्मेवारी हेरफेर गरिएको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणीन्द्र देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन् भने यसअघि उक्त मन्त्रालय सम्हाल्दै आएका नन्दप्रसाद न्यौपानेलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
देवकोटा २१ जेठ २०८१ मा मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएपछि प्रदेश सरकारमा मन्त्री बनेका थिए। उनी तत्कालीन नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेसपाका सांसद हुन्।
केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच गठबन्धन बनेपछि गण्डकीमा एमालेबाट सरकारमा सहभागी चार मन्त्रीले १० भदौमा पदबाट राजीनामा दिएका थिए। त्यसपछि प्रदेश सरकारमा मन्त्रालयगत जिम्मेवारी पुन:व्यवस्थित गर्ने क्रममा पछिल्लो हेरफेर गरिएको हो।
यसअघि ऊर्जा मन्त्रालयको जिम्मेवारीमा रहेका न्यौपानेलाई मुख्यमन्त्री पाण्डेले आफूसँग राख्दै आएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी हस्तान्तरण गरेका छन्।
जेन जेड आन्दोलनका क्रममा बालबालिकासहितका व्यक्तिको मृत्यु भएपछि देवकोटाले २४ भदौमा मन्त्री पदबाट राजीनामा दिएका थिए। देवकोटाले नयाँ जिम्मेवारी अनुसार पद तथा गोपनीयताको शपथसमेत लिइसकेका छन्।

