
पोखरा । पोखरा उद्योग वाणिज्य संघको ७० वर्ष लामो इतिहासमा पहिलोपटक महिलाले नेतृत्व सम्हाल्ने भएकी छन् । संघको ३६ औं अधिवेशनबाट शोभा गौतम अध्यक्षमा निर्वाचित भएकी हुन् । उनले आफ्ना तीन पुरुष प्रतिस्पर्धीलाई पराजित गर्दै ऐतिहासिक जित निकालेकी हुन् । गौतमले निर्वाचनमा अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य र बलराम आचार्यलाई पछाडि पारिन् ।
यसअघि विन्दु कोइराला र हीरा भट्टराईले अध्यक्षका लागि प्रयास गरे पनि उनीहरू सफल हुन सकेका थिएनन् । वर्तमान महासचिवको जिम्मेवारी सम्हालिरहेकी गौतमले अब संघको बागडोर सम्हाल्नेछिन् । यो जितलाई उनले हजारौं संघर्षशील महिला उद्यमीहरूको प्रतिनिधि आवाजका रुपमा लिएकी छन् । ‘मेरो परिचय केवल एउटा उम्मेदवारका रूपमा मात्र नभई हजारौं संघर्षशील महिला उद्यमीहरूको प्रतिनिधि आवाज हो,’ उनले भनिन् ।
नवनिर्वाचित अध्यक्ष गौतमको व्यावसायिक यात्रा २६ वर्षअघि एउटा सानो चिया पसलबाट सुरु भएको थियो । उनले उद्योग वाणिज्य संघकै कार्यालय अगाडि चिया पसल चलाएर व्यवसायको जग बसालेकी थिइन् । त्यही समयमा उनले व्यवसायीका समस्या र बजारको मनोविज्ञानलाई नजिकबाट बुझ्ने मौका पाइन् । पछि उनले महेन्द्रपुलमा ‘पुष्पाञ्जली ब्युटी पार्लर’ सुरु गरेर आफूलाई स्थापित गराइन् ।
त्यो बेला पार्लर व्यवसायलाई हेर्ने सामाजिक दृष्टिकोण सहज नभए पनि उनले त्यसलाई चुनौतीका रुपमा स्वीकार गरिन् । अहिले उनी सुप्रिम सप्लायर्समार्फत लुब्रिकेन्ट, फेसन, इभेन्ट, रेस्टुरेन्ट, कृषि र ग्रोसरी जस्ता विविध क्षेत्रमा सक्रिय छिन् । संघमा उनको प्रवेश विसं २०७३ सालमा साधारण सदस्यका रुपमा भएको थियो । तत्कालीन अध्यक्ष पवनकुमार प्रजापतिको प्रेरणाले उनी संस्थामा जोडिएकी थिइन् ।
गौतम कार्यसमिति सदस्य हुँदै उपमहासचिव र महासचिवको जिम्मेवारीमा रहेर आफ्नो कार्यक्षमता प्रमाणित गरिसकेकी छन् । संघबाहेक उनले मानव सेवा आश्रम, लायन्स क्लब र अन्य सामाजिक संस्थाहरूमा समेत आफ्नो दरिलो उपस्थिति जनाएकी छन् । पदलाई अधिकारभन्दा पनि सेवाको अवसरका रुपमा लिने उनको कार्यशैलीले नै उनलाई आज अध्यक्षको पदसम्म पुर्याएको हो ।

