पहिरो खसेर किम्रुङ खोला थुनियो, किनाराका बस्तीमा प्रहरीको माइकिङ

-


     मर्दी न्युज    
     भाद्र २३ गते २०८३ मा प्रकाशित


पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा पहिरो खसेर खोला थुनिएको खबर आएपछि प्रहरीले आसपासका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले वडाध्यक्षबाट खोला थुनिएको जानकारी आएको र सम्भावित जोखिमलाई ध्यानमा राखेर सुरक्षा टोलीलाई सतर्क बनाइएको प्रशासन सिंहदरबार विशेष ब्युरोलाई बताए।

‘खोला थुनियो भन्ने खबर आएको छ। पहिरो आएको र झोलुङ्गे पुल बगाएको थियो,’ गुरुङले प्रशासनसँग भने, ‘नदीमा पानीको बहाव घटेको छैन। वडाध्यक्षबाट थुनिएको खबर आएको छ। टोलीलाई अलर्ट हुन लगाएका छौँ।’

स्थानीय तहबाट प्राप्त जानकारीअनुसार किम्रुङ खोला बिहान करिब ६ बजेदेखि पहिरोका कारण थुनिएको हो। खोला पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएको र माथिल्लो क्षेत्रमा कति पानी जम्मा भएको छ भन्ने विस्तृत विवरण भने आउन बाँकी छ।

नयाँपुल-वीरेठाँटी क्षेत्रमा प्रहरीको माइकिङ
सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरीले नयाँपुल, वीरेठाँटी र आसपासका बस्तीमा माइकिङ गरी स्थानीयलाई खोला तथा नदी किनारबाट टाढा रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार नेपाली सेनाको टोली नजिकै रहेको छ भने नेपाल प्रहरीलाई पनि आवश्यकताअनुसार तत्काल परिचालन हुन सक्ने गरी तैनाथ राखिएको छ।

‘स्थानीयलाई सावधानी अपनाउन भनिसकिएको छ। नेपाली सेनाको सुरक्षा पनि नजिकै छ र नेपाल प्रहरी पनि तैनाथी अवस्थामा छ,’ गुरुङले भने।

पहिरोले अवरुद्ध गरेको स्थानमा पानी जम्मा भएर अवरोध एक्कासि खुले तल्लो तटीय क्षेत्रमा आकस्मिक बाढी आउन सक्ने भएकाले पूर्वसावधानी अपनाइएको हो।