
काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटीको आज विहान ११ बजे बस्ने भनिएको बैठक अपरान्ह तीन बजेसम्मका लागि स्थगित भएको छ । स्थायी कमिटी बैठकअघि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भइरहेको छ ।
केही दिनदेखि नेकपामा देखिएको आन्तरिक कलह मिलाउन भन्दै बिहीबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निश्कर्ष टुंगिएको थियो ।
बैठकमा पार्टी भित्रको विवाद समाधानका लागि केन्द्रीय कमिटी बैठक बोलाउने प्रस्ताव पेश हुने सम्भावना रहेको एक नेताले बताए । पार्टीको शक्तिशाली निकाय केन्द्रीय कमिटीमा अहिलेको विवादका बारेमा छलफल गर्न शीर्ष नेता समहत भएको बुझिएको छ ।

