
पोखरा: ढकमक्क फूलेको हिमाली चेरी । भिरालो पाखा केही माथि उक्कलेपछि चिसो सिरेटोसँगै देखिन्छ लामो हिमश्रृङ्खला । केही तल अर्थात् पूर्वीदक्षिणमा देखिन्छ झुरुप्प भएको सानो गाउँ चन्द्रकोट ।

स्याङ्जा बजारदेखि ८ किलोमिटरको यात्रा गरेपछि पुगिन्छ यस ठाउँमा । पेल्काचौर मैदान हुँदै डाँडा गाउँ छिचोलेर जानुपर्छ चन्द्रकोट गाउँ । साबिक पेल्काचौर गाविसमा रहेको यस डाँडागाउँ र चन्द्रकोट गाउँको बीच भागमा फूल्दछ नेपाली चेरी अर्थात् पैयुँ । यो ठाउँ मिलेनियम पदमार्ग अन्तर्गत पर्दछ ।
यतिखेर नेपालका थुप्रै पहाडी ठाउँमा पैयुँ ढकमक्क फूलेको छ । विश्वको कुनैपनि मुलुकमा यो मौसममा पैयुँ फूल्दैन तर नेपालमा मात्र यो फूल फूल्नु एउटा फरक विशेषता नै रहेको छ । सामान्यतय ‘स्प्रिङ सिजन’मा पैयुँ फुल्ने महिनाको रुपमा हेरिन्छ । तर नेपालमा भने यस सिजनमै फुल्ने गर्दछ ।

नेपालमा हिउँदको शुरुवातसँगै फुलहरु फुल्ने क्रम रोकिएपछि पैयुँ फुल्ने भएकाले यसलाई हिउँदमा फुल्ने फूलको रानी समेत भनिने गरिएको छ । नेपालमा पाइने पैयुुँ आयतित नभई स्थानीय जातको हो । नेपाली समाजमा पैयुँलाई धार्मिक कार्यमाा समेत प्रयोग गर्दै आइरहेको पाइन्छ । प्राकृतिक, सांस्कृतिक, धार्मिक र जडीबुटीको हिसाबले पनि उपयुक्त वृक्ष हो पैयुँ ।
मिलेनियम पदमार्गमा रहेको यस ठाउँ यतिखेर फूलेको पैयुँले अति मनमोहक देखिएको छ । पेल्काचौर र डाडाँगाउँमा ‘होमस्टे’ सञ्चालन भइसकेको अवस्थामा यतिबेला घुम्न उपयुक्त हुन्छ । साँस्कृतिक विविधताले भरिपूर्ण यस गाउँमा आनन्द लिनुको छुट्टै मज्जा छ । राङखोलाबाट धोवादी भञ्ज्याङसम्म मोटरयात्रा गरी त्यहाँबाट एक घण्टाको पैदलयात्राबाट पनि पुग्न सकिन्छ चन्द्रकोट गाउँ । गुरुङ संस्कृति र अग्र्यानिक खानपानको लागि चन्द्रकोट गाउँ अति उपयुक्त ठाउँ हो । घरबास कार्यक्रम सञ्चालन भइसकेकोले त्यहाँ खान र बस्नको कुनै असुविधा छैन ।

त्यस ठाउँबाट सूर्योदय र सूर्यस्त तथा कञ्चन हिमश्रृङ्खला नियाल्न अति उपयुक्त ठाउँ पनि हो । युनिट्राप गण्डकीका संस्थापक अध्यक्ष समेत रहनु भएका पर्यटक गाइड खेमबहादुर गुरुङ भन्नुहुन्छ— ‘पर्यटकीय सम्भावना प्रचुर मात्रामा रहेता पनि प्रचारप्रसारको अभावले ओझेल परिरहेको छ ।’
